आइसिटी डे मनाइँदै, सूचना प्रविधिको सुरक्षित प्रयोगमा सञ्चार मन्त्री शर्माको जोड

Thankot Times

थानकोट ।

सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ आज मनाउने भएको छ ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौँ दिवस अर्थात् ‘आइसिटी डे’ यही वैशाख १७, १८ र १९ गते तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको हो ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार सूचना प्रविधिको क्षेत्रमा योगदान दिएकालाई सम्मान गर्ने गरिन्छ । “सूचना प्रविधिको प्रयोगबाट हुने साइबर अपराध कसरी रोक्न सकिन्छ भनेर अध्ययन गर्ने गरिन्छ”, उनले भने, “सूचना प्रविधिको प्रयोग गरेर देशको विकास र मुलुकको समृद्धि गर्न सकिने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।”सूचना विश्वसनीय र भरपर्दो खालको हुनुपर्ने भन्ने सोचका साथ यो दिवसको नारा तय गरिएको समेत उनले जानकारी दिए ।

दिवस मनाउन मन्त्रालयका सचिव कृष्णबहादुर राउतको संयोजकत्वमा गठित मूल समारोह समितिको यही वैशाख १० गते बसेको बैठकले यस वर्ष मूल नारा पारित गर्दै मनाउने निर्णय गरेको थियो ।

दूरसञ्चार सेवाप्रदायकमार्फत तीन दिनसम्म वैशाख १७, १८ र १९ गते रिङब्याक टोनका रूपमा ‘आईसीटी डे २०२३ भव्य रूपमा मनाऔँ’ भन्ने सन्देशका साथै वैशाख १९ गते बिहान मोबाइल प्रयोगकर्तालाई एसएमएसमार्फत पठाउने व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गर्ने प्रचार उपसमितिले जनाएको छ ।

यसैबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्र गतिमा भइरहेको भन्दै यसलाई अझै विस्तार गर्दै सूचना प्रविधिमा आम नागरिकको सुरक्षित प्रयोग र समान पहुँचको अधिकार स्थापित गर्नु आजको दायित्व भएको बताएकी छन् ।

यद्यपि, सञ्चार तथा सूचना प्रविधिको प्रयोग र विस्तारसँगै यसको सुरक्षित प्रयोगका लागि नागरिक र सरकार सजग हुनु पर्ने बताएकी छन् । केही समयअघि सरकारी सर्भरहरूमा समस्या देखिनुका साथै साइबर सुरक्षामा चुनौती देखिएपछि सरकारले उच्चस्तरीय कार्यदल नै गठन गरेर अध्ययन प्रक्रिया अघि बढाएको उनले स्मरण गरेकी छन् ।

“सो कार्यदलले दिएको प्रतिवेदनलाई समेत आत्मसात गर्दै साइबर सुरक्षामा देखिएका चुनौतीको सामना गर्न सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाको लागि अध्ययन कार्य अगाडि बढाइसकेको छ । साइबर सुरक्षासम्बन्धी नीति र कानुन निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको छ,” आईसीटी डेको शुभकामना दिँदै उनले भनेकी छन्, “दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन फोरजी सेवा देशभर विस्तार गरिएको छ । सबै स्थानीय तहसम्म ब्रोडब्याण्ड सेवा पुर्याउने गरी कार्यक्रम सञ्चालन भइरहेको छ ।” यसलाई दिगो र भरपर्दो बनाउन सके इन्टरनेट प्रयोगबाट आम जनताले अपेक्षित लाभ प्राप्त गर्ने उनको विश्वास छ ।

नेपालमा २०२८ सालमा कम्प्युटर भित्रिएको थियो । नेपालमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान)को सन् १९९२ मा स्थापना भयो । त्यही स्थापना भएको दिनलाई सूचना प्रविधि दिवसका रूपमा मनाउन थालेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *