चन्द्रागिरि नगरमा ३ वटा करिडोर निर्माणका लागि आगामी वर्ष ८ करोड प्राप्त हुने

Thankot Times

थानकोट । 

ट्राफिक जामको विकल्पका रूपमा लिइएका चन्द्रागिरि नगरपालिकाका नदी किनारका सडक निर्माण एवं व्यवस्थित गर्ने कार्यका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले चन्द्रागिरि नगरपालिकालाई बजेट उपलब्ध गराउने भएको छ । 

बागमती नदीका सहायक तथा उपसहायक नदीको सभ्यतासँग सरोकार राख्ने सो विकास समितिले चन्द्रागिरि नगरपालिकाको बल्खु-विष्णुदेवी करिडोर, मच्छेगाँउ-कीर्तिपुर करिडोर तथा मनमति करिडोरका लागि बजेट व्यवस्थापन हुने जानकारी दिएको बताइएको छ । 

चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गीका अनुसार सो विकास समितिले मच्छेगाउँ हुँदै कीर्तिपुर नगरपालिका जोड्ने करिडोरका लागि १.५ करोड उपलब्ध गराउनेछ जसबाट सो क्षेत्रमा नदीको बहान नियन्त्रणका लागि तटबन्ध तथा साना प्रकृतिका बाँध निर्माण हुनेछ । यसैगरी बल्खु-विष्णुदेवी करिडोरमा सडक निर्माणका लागि ५ करोड रूपैयाँ उपलब्ध गराउनेछ । 

साथै, सोही विकास समितिले नागार्जुन नगरपालिकाबाट चन्द्रागिरि नगरपालिका हुँदै काठमाडाैं महानगरपालिकामा पुग्ने मनमति (कलंकी मालपोत कार्यालय अगाडीको नदी) करिडोरका लागि १.५ करोड रूपैयाँ उपलब्ध गराउने भएको छ । 

काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न विभिन्न समयमा गठित सरकारले करिडोरको परिकल्पना गरेको छ ।

बागमती करिडोरबाहेक धोबीखोला, विष्णुमती र मनोहरासँगै अन्य सहायक खोला गरी १० वटा खोलाकिनारमा करिडोर सञ्चालनमा आइसकेका छन् ।

खोलाको बहाव क्षेत्र निर्धारण गरेर तटबन्ध लगाउने र ढल व्यवस्थापन गरी खोलाको दुवैतर्फ निर्माण भएका सडकखण्डले उपत्यकाको ट्राफिक जामलाई पूर्ण रूपमा व्यवस्थापन गर्न सकिने अपेक्षासहित काठमाडाैं उपत्यकाका विभिन्न नदी किनारमा करिडोर विकास गरिँदै आएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ