नागढुङ्गामा लापसे चेकिङ, माइक्रो बसका दुई जना चालकसहित ६ जना नियन्त्रणमा
थानकोट ।
राजधानी काठमाडाैं भित्रने प्रमुख सडक नाका चन्द्रागिरि नगरपालिका-०२ नागढुङ्गा नाकामा शुक्रबार गरिएको जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रभाग थानकाेटका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले दिनुभएको जानकारी अनुसार बा ७८ प ९२६ नम्बरको मोटरसाइकल चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने २५ वर्षीय सशांक मुडवरी, बागमती प्रदेश ०२ ०३४ प ३८ ४५ नम्बरको मोटरसाइकल चालक बाराका २५ वर्षीय निकेश श्रेष्ठ, बा ३ ख ४२ नम्बरको माइक्रो चालक धादिङको सिद्धलेख गाउँपालिका ७ का ३१ वर्षीय भगवान गिरी, ग २ ख १२ ८७ नम्बरको माइक्रो चालक स्याङजाका ३१ वर्षीय सन्तोष बि.क., बा ११ च २२ ०० नम्बरको कार चालक रामेछापको खाडादेबी गाउँपालिका बस्ने २१ वर्षीय अन्न बहादुर चौहान र ग १ क ५२ ५१ नम्बरको कन्टेनर चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ का ३२ वर्षीय रामचन्द्र प्रजालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका सबै चालकहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट ल्याइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले शुक्रबार २० वटा सवारी साधन जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालक फेला पारेको थियो ।
लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउनु निन्दनीय कार्य भएको र यसरी सवारी साधन चलाउँदा चालक लगायत यात्रुको जीवनसमेत जोखिममा पर्ने भएकाले नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउनु चालकहरूलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गर्नु भएको छ ।












