राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकको सुविधा कटौती गर्नुपर्छ- गगन थापा

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिक भार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताएका छन् ।

स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च मात्र रोक्न सके पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने थापाले बताए ।

नेपाल वितरक संघको ११औँ वार्षिक साधारणसभालाई शनिबार धादिङबेँसीमा सम्बोधन गर्दै महामन्त्री थापाले भने, “म यो वर्ष कुनै पनि ठाउँमा कसैलाई पनि स्वास्थ्योपचारका नाममा एक रुपैयाँ पनि राष्ट्रको ढुकुटीबाट खर्च गर्दिनँ भनेर सबैले व्यवहारमा लागु गर्न सक्नुपर्छ ।”

उनले थपे, “सांसदले तलब पाउँछ, संसद् बैठक बसेको बेला सांसदहरूले बैठकभत्ता पाउँछ ।

त्यो ठूलो पैसा छैन । तर, यो वर्ष अप्ठयारो परेको वर्ष भएकाले सांसदले हामी यसरी प्राप्त गरिरहेको सेवा सुविधा कटौती गर्छौँ भनेर लाग्यौँ भने बल्ल देशभित्रको आर्थिक व्यवस्थापन सहज बनाउन सहयोग पुग्नेछ ।”

राष्ट्रपतिदेखि सांसद हुँदै वडाध्यक्षसम्म सबैले अरू सुविधा कटौती गरेर देशको अप्ठ्यारो फुकाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

मुलुकको आर्थिक वृद्धिदर खुम्चिएकाले सरकारले अब ल्याउने बजेटमा पनि निर्मम भएर खर्च कटौती गर्न सक्नुपर्ने महामन्त्री थापाले बताए । रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ