जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि डोजाङ दोश्रो

Thankot Times

थानकोट ।

काठमाडाैंको गोकर्णेश्वरमा सम्पन्न प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)  टिमले च्याम्पियन ट्रफी जितेको छ । ८ स्वर्ण, ७ रजत र १ कांस्य जित्दै एनटीए च्याम्पियन भएको हो ।

सुन्दरीमाई तेक्वान्दो डोजाङ नेपालद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ४ कांस्य साथ चन्द्रागिरि डोजाङ दोस्रो भयो । तेस्रो स्थानमा रहेको एम्बासडरले समान ३–३ स्वर्ण, रजत र कांस्य जितेको थियो ।

गोकर्णेश्वर नगरपालिकाको प्रायोजन तथा गोकर्णेश्वर नगर खेलकुद विकास समिति र गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा भएको प्रतियोगिताको पुरुषमा एनटीएका भिजन तामाङ र महिलामा कोटेश्वरकी इशिका राणा उत्कृष्ट खेलाडी घोषित भए ।

भिजनले एकल पुम्से र ३२ केजीमुनि तौल तथा इशिकाले ५० केजीमुनि तौलमा स्वर्ण जितेका थिए । दुवैले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए ।

विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक राजु क्षेत्री, गोकर्णेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामा, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, आयोजक डोजाङका प्रमुख एवं प्रतियोगिता संयोजक सुवासचन्द्र गौतमलगायतले पुरस्कृत गरे ।

गोकर्णेश्वर नगरपालिका वडा १ को सुन्दरीजलस्थित ओख्रेनी माविमा भएको दुईदिने प्रतियोगिताको ग्यारोगीमा २१ तथा पुम्से (एकल) मा २ गरी २३ स्पर्धामा ३ सय १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *