मनकामना केबलकारका कार्यकारी निर्देशक श्रेष्ठलाई अष्ट्रिया सरकारको ‘अनररी अफ सिल्भर’ सम्मान
थानकोट ।
अष्ट्रिया सरकारले उद्यमी राजेशबाबु श्रेष्ठलाई सो मुलुकको प्रसिद्ध सम्मान ‘डेकोरेसन अफ अनर इन सिल्भर’’ बाट सम्मानित गरेको छ।
अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भ्यान डेर बेलेनले प्रदान गर्नुभएको सो सम्मान उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा काठमाडाैंमा आइतबार आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना विजरले उद्यमी श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो।
अष्ट्रियाका लागि नेपाली अवैतानिक वाणिज्यदूत समेत रहनुभएका श्रेष्ठलाई नेपाल-अष्ट्रियाबीचको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको आधारमा सो सम्मान दिइएको अष्ट्रिया सरकारले जनाएको छ।
सो सम्मान कार्यक्रममा सम्मानित नेपालको पहिलो केबलकार सेवा प्रदायक संस्था मनकामना केबलकार प्रा.लि. का कार्यकारी निर्देशक समेत रहनुभएका श्रेष्ठले अष्ट्रियामा भएका पूर्वाधार विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने धारणा राख्नुभयो । ‘नेपाल-अष्ट्रियाबीच धेरै समानताहरु छन् तर अष्ट्रियाले आर्थिक विकासमा ठूलो फड्को मारिसकेको छ,’ उहाँले भन्नुभयो, ‘पहाडको पूर्वाधार विकास र जलविद्युतमा उसको प्रगति उत्साहजनक भएर नै आर्थिक समृद्धि हासिल गरेको हो।’ उहाँले कोभिड महामारीका बेला अष्ट्रिया सरकारले नेपाललाई चार लाख थान खोप सहयोग गरेको बताउनुहुँदै उहाँले पाटन संग्राहलय र केशरमहलस्थित गार्डेन अफ ड्रिम्समा समेत अष्ट्रिया सरकारको सहयोग रहेको जानकारी दिनुभयो ।
यसअघि सन् २०१३ मा अष्ट्रिया सरकारले मनकामना केबलकारका संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठलाई ‘अनररी अफ गोल्ड’ अवार्डबाट सम्मान गरेको थियो ।















