काठमाडाैं क्षेत्र नं. १० का रास्वपा उम्मेदवार विष्टको चुनावी खर्च १ लाख ४४ हजार
थानकोट ।
अघिल्लो वर्षको मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा काठमाडाैं क्षेत्र नंं १० बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट संघीय संसद्को उम्मेदवार बन्नुभएका प्रदिप विष्टले निर्वाचनको खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
रास्वपाको काठमाडाैं जिल्ला संयोजक समेत रहनुभएका विष्टले सो चुनावमा १ लाख ४४ हजार ६ सइ ९५ रूपैयाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको हो।
मंसिर १३ गते नै निर्वाचन आयोगमा खर्च विवरण पेश गरिसक्नुभएका विष्टले सामाजिक सञ्जालबाट पनि खर्च सार्वजनिक गर्नुभएको हो । उहाँले स्टेशनरी र छपाई शीर्षकमा ६७ हजार ४ सय ३० रूपैयाँ, इन्धनमा ३१ हजार रूपैयाँ र खाजा खानामा ४६ हजार २ सय ६५ रूपैयाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको हो।
सो निर्वाचनमा विष्टले तेश्रो स्थानमा चित्त बुझाउन परे पनि अन्य उम्मेदवारहरूलाई अन्तिम समयसम्म नै टक्कर दिनुभएको थियो । विष्टले ८७३६ मत पाउँदा पहिलो भएको दल नेपाली काँग्रेसका राजेन्द्रकुमार केसीले १४४५८ मत तथा दोश्रो स्थानमा चित्त बुझाएको नेकपा एमालेका उम्मेदवार हिमेश केसीले ११७८६ मत पाउनुभएको थियो ।
निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई बैशाख ६ गतेबाट सात दिनभित्र खर्चको विवरण सार्वजनिक निर्देशन दिएको थियो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालय समक्ष पेस गर्नुपर्ने हुन्छ।













