शनिबार साँझ काठमाडाैं छिरेका थिए एमाले सचिव रायमाझी

Thankot Times

थानकोट । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आइतबार साँझ पक्राउ परे ।

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीका अनुसार प्रहरीले उनलाई काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाबाट पक्राउ गरेको हो ।

रायमाझी अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भइरहेको समयमा पक्राउ पुर्जी जारी भएको सूचना बाहिरिएको थियो । त्यसपछि रायमाझीले अनुसन्धानमा सघाउने बताएका थिए । तर, त्यसपछि भने उनी फरार भएका थिए । यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव, रायमाझीका छोरा सन्दीपलगायत पक्राउ परिसकेका छन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै मोटो रकम असुलेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा उच्च पदस्थहरूनै अनुसन्धानको निशानामा परेका छन् ।

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी शनिबार बेलुका काठमाडौं उपत्यका छिरेको प्रहरी स्रोतले जानकारी दिएको  शिलापत्रमा खबर छ । त्यसअघि उनको लोकेसन भारतमा देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली भारत गएको थियो । सीआईबीका डीएसपीको कमाण्डको टोली अहिले पनि भारतमै छ ।

आफूलाई पक्राउ गर्न प्रहरी भारतसम्म पुगेको सूचना पाएपछि रायमाझी काठमाडौं छिरेको हुन सक्ने प्रहरी स्रोत बताउँछ ।

रायमाझी काठमाडौं छिरेको सूचना पाएको प्रहरीको विशेष ब्युरोसहित सीआईबी, काठमाडौं प्रहरीसर, उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानिलकण्ठ नगरपालिकाबाट पक्राउ गरेको हो ।

रायमाझीलाई अहिले काठमाडौं प्रहरी परिसरको कार्यालय टेकु ल्याइएको छ । सोही आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पनि टेकुमै राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *