नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्व गृहमन्त्री खाँणले हिजो पेट दुख्याे भनेपछि राेकिएकाे बयान आज
थानकोट ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको बयान आज पनि लिइँदैछ । हिजो बयानका क्रममा पेट दुख्यो भनेपछि खाँणको बयान रोकिएको थियो ।
आज उनको बयान लिने कार्यलाई निरन्तरता दिइने छ । नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीका आरोपीहरूमध्ये ११ जनासँग जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि नै बयान लिइसकेको छ ।
यसअघि आइतबार खाँणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग बयान लिइएको थियो । उक्त घटनामा अहिलेसम्म खाँणसहित पूर्वउपप्रधानमन्त्री टाेपबहादुर रायमाझी, पाण्डे र केसीसहित १३ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका तीन आरोपीहरू भने फरार छन् ।
आइतबारअघि पक्राउ परेका १२ जनालाई अनुसन्धानका लागि आइतबार अदालतबाट चार दिनको म्याद प्राप्त भएको थियो । आइतबार पक्राउ परेका रायमाझीको हकमा भने हिजाे तीन दिनको म्याद थप भएको छ ।
शरणार्थी ठगी प्रकरणमा जोडिएपछि प्रहरीले पूर्वगृहमन्त्री खाँण र उनका स्वकीय सचिव केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो । वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए ।
उक्त घटनामा संलग्न रहेको आरोपमा रायमाझी र उनका छोरा सन्दीपलाई वैशाख २० गते नै पक्राउ पुर्जी जारी भएको थियो । त्यस दिन सन्दीप मात्रै पक्राउ परेका थिए । त्यसपछि फरार रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई प्रहरीले आइतबार काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।
यही वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए । त्यसअघि गत चैतमा उक्त प्रकरणका गिरोह मानिएका केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका थिए । उनीहरूकै बयानका आधारमा तत्कालीन गृहमन्त्री र गृहसचिवको नाम मुछिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका डा राईका छोरा नीरज र शुक्रबार पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक हाल सम्पर्कविहीन छन् ।
शरणार्थी ठगी प्रकरणमा एक सय छ जना पीडितले उनीहरू विरुद्ध २० वटा जाहेरी दिएका छन् । उनीहरूले कुल २३ करोड २५ लाख ठगी गरेको आराेप लगाएका छन् । उक्त घटनामा अझै धेरै पीडित भएको बताइएको छ ।
उक्त घटना विसं २०७६ सालदेखि नै सुरु भएको र २०७७ सालदेखि भने गृहका अधिकारीसहितको मिलेमतोमा सङ्गठित रूपमा ठगी भएको प्रहरीले दाबी गरेको छ ।
लामो समयसम्म शरणार्थी बनेर अमेरिका जान नपाएपछि मात्रै पीडितहरू प्रहरीमा आएका थिए । गत जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पीडितले जाहेरी दिएका थिए । तर उक्त घटनाका आरोपीहरू १० महिनापछि गत चैतमा मात्रै पक्राउ परेपछि उनीहरूको बयानका आधारमा घटनामा जोडिएका मन्त्री तथा सरकारी उच्च पदस्थ अधिकारीहरू समेत पक्राउ परेका हुन् । अन्य केही उच्च अधिकारीहरूका विषयमा भने प्रहरीले प्रमाण जुटाउने प्रयास जारी राखेको बताइन्छ ।













