नेकपा एसको आम्दानी ७ करोड, पार्टीको घर र जग्गाजमिन छैन
थानकोट।
माधव कुमार नेपाल नेतृत्वको नेकपा एसले ७ करोड १५ लाख ९० हजार ३ सय ७७ रुपैयाँ आम्दानी गरेको छ ।
निर्वाचन आयोगमा बुझाएको लेखापरीक्षण प्रतिवेदनमा नेकपा एसले खर्च ६ करोड ५ लाख २९ हजार ५ सय २९ रुपैयाँ गरेको छ । खुद नाफा १ करोड १० लाख ६० हजार ८ सय ४८ रुपैयाँ गरेको छ ।
नेकपा एसको आम्दानीको स्रोत चन्दा, लेबी र प्रकाशन बिक्री रहेको छ । सदस्यता, लेबी र नवीकरण शुल्कबाट १ करोड ७८ लाख ३५ हजार ८२५ रुपैयाँ संकलन गरेको छ । चन्दा तथा सहयोगमा व्यक्तिगतबाट ३ करोड ९५ लाख ६२ हजार ५०० र संस्थाबाट १ करोड ३० लाख १५ हजार ८४७ रुपैयाँ संकलन गरेको छ ।
एकीकृत समाजवादीले सबैभन्दा धेरै खर्च चुनावमा गरेको छ । प्रतिवेदनमा चुनावमा २ करोड ९९ लाख ४४ हजार २६६ रुपैयाँ खर्च गरेको छ । प्रशिक्षणमा २८ लाख १५ हजार ६५७ रुपैयाँ कार्यालय सञ्चालनमा ९६ लाख ८५ हजार १०१ रुपैयाँ, प्रकाशनमा ४८ लाख ५० हजार २९५ रुपैयाँ खर्च भएको उल्लेख गरेको छ । पार्टीको प्रचारप्रसारमा ४० लाख खर्च गरेको छ ।
सबैभन्दा धनी पार्टी एमालेबाट छुट्टिएर बनेको नेकपा एसले जग्गा जमिन जोडेको छैन् । आयव्यय विवरणमा घरबहालमा २५ लाख ५० हजार खर्च गरेको जनाएको छ । ‘जग्गा जमिन जोडेको छैन । केपी ओलीलाई छोडेर आएका छौँ,’ उपमहासचिव तुलाधरले भने ।
विद्रोह गरेर आउने समयमा एमालेको खातामा २४ करोड पैसा रहेको र जग्गाजमिनमा आफूहरूको पनि दाबी लाग्ने उनी बताउँछन् । ‘कानुनी रूपमा अदालत जानुपर्ने हुन्छ । देशैभर रहेको सम्पत्तिमा हाम्रो पनि हक आउँछ । तर, अदालत जानेभन्दा पनि एमालेको ठूलो सदस्यलाई हाम्रोमा ल्याएर सदस्यहरूको शक्ति र आडमा जग्गाजमिन र भवन जोड्छौँ,’ उनले भने, ‘जिरोबाट उठ्ने कसम खाएर इच्छाशक्ति लिएका छौँ ।’













