टुंगियो बागमतीमा मन्त्रालयको हानाथाप, नेकपा एसबाट दुई सांसद्ले लिँदैछन् मन्त्री पदको सपथ

Thankot Times

थानकोट ।

५४ दिन देखी बागमती प्रदेशमा मन्त्री विहिन भएका मन्त्रालयहरूले मन्त्री पाउने भएका छन् । 

मन्त्रालय भागबन्डालाई लिएर भएको विवाद बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा मिलेको छ ।

भागबन्डा विवाद नमिल्दा नेकपा माओवादी नेतृत्वको बागमती प्रदेश सरकार निरन्तर दबाबमा परेपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका नेताहरूलाई बालुवाटार बोलाएका थिए ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा र नेकपा (एकीकृत समाजवादी)का नेता तथा निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनाललाई राखेर प्रधानमन्त्री प्रचण्डले विवाद मिलाएका हुन् ।

खनालका अनुसार एकीकृत समाजवादीले दुईवटै मन्त्रालय पाउने भएको छ । जसअनुसार कांग्रेसले पाँचवटा मन्त्रालय लिने भएको हो । आइतबारसम्म सरकार विस्तार गरिसक्ने गरी नेतृत्वबाट निर्देशन आएको खनालले जानकारी दिए । ‘आइतबारसम्म सरकार विस्तार गर्नु भन्ने कुरा छ, शिलापत्रमा खबर छ । अब विवाद केही छैन् । प्रदेश सरकार आफ्नो गतिमा अघि बढ्छ’, उनले भने ।

कांग्रेसले छ वटा र एकीकृत समाजवादीले दुईवटा मन्त्रालय नलिई नछोड्ने अडानका कारण विगत ५४ दिनदेखि बागमतीको सरकार अपूर्ण छ ।

नेकपा एकीकृत समाजवादीले श्रम, रोजगार तथा यातायात र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाउने करीब पक्का भएको छ । 

बागमती प्रदेशसभामा सात वटा दलको प्रतिनिधित्व छ । जसमा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद् छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *