नागढुङ्गा सुरुङ मार्गको मुख्य सुरूङ ६८६ मिटर खन्न बाँकी, ५% जग्गा अधिग्रहण हुन बाँकी
थानकोट ।
चन्द्रागिरि नगरपालिका र धुनिवेशी नगरपालिकामा निर्माणाधीन राष्ट्रिय गाैरवको आयोजना नागढुङ्गा सुरूङ मार्गको सुरुङ निर्माणको समग्र कार्य १८ प्रतिशत बाँकी रहेको आयोजनाले जनाएको छ ।
समयमै भने बमोजिम काम गर्न नसक्दा म्याद थपिएको आयोजनाको कामले पछिल्लो समय भने गति लिएको हो ।
गत फागुनसम्म ७६ प्रतिशत मात्रै निर्माण सम्पन्न भएको सुरुङ २ महिनाको अवधिमा ६ प्रतिशत थप निर्माण भएको हो ।
२०७६ को कार्तिकमा ४४ महिनामै अर्थात यो बर्षको असारसम्म काम सम्पन्न गर्ने लक्ष्य राखेर काम अघि बढाईएको उक्त आयोजनाको हालसम्मको कुल भौतिक प्रगति न्युन नै छ ।
आगामी असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएपनि कोरोना महामारी, जग्गा अधिग्रहण लगायतमा समय लागेको भन्दै आयोजनाको म्याद थपिएको छ ।
आयोजनाका अनुसार मुख्य टनेल, इभ्याकुएशन टनेल र वर्किङ अडिटलगायत गरेर जमिनमुनीको काम ८२.२० प्रतिशत सम्पन्न भएको छ । जमिनमुनी कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्नेमा हालसम्म ४ हजार ५ सय २० मिटर खनिएको छ । जसमध्ये मुख्य सुरुङ २ हजार २ मिटर, इभ्याकुएसन सुरुङ २ हजार ३ सय ५ मिटर, वर्किङ अडिट १ सय २६ मिटर र क्रस प्यासेज ८६ मिटर खनिएको छ ।
यता जमिन बाहिर भने अन्डरपास, कल्भर्ट, ओभरपास र पुलहरुको काम शतप्रतिशत सम्पन्न भईसकेको छ । काठमाडौंतर्फ आकाशेपुल बनाउने कामका लागि भने अझै आवश्यकको ५ प्रतिशत जग्गा अधिग्रहण गर्नै बाँकी छ ।
आयोजनामा ३ ओटा अन्डरपास, ४ ओटा कल्भर्ट, एउटा ओभरपास र ३ ओटा पुल बनाउनुपर्ने थियो । त्यसको काम सम्पन्न भईसेकपछि काठमाडौंतर्फ निर्माण हुने आकाशेपुल का लागि आवश्यक पिल्लरको ३ ओटा जग हालिसकिएको बताईएको छ ।
हालसम्म आयोजनाको कुल भौतिक प्रगति ५३.४२ प्रतिशत र वित्तीय प्रगति ५८.३२ प्रतिशत भएको छ ।
काठमाडौं भित्रिनका लागि बनाउन लागिएको उक्त सुरुङमार्गमा दुईओटा सुरुङमार्ग हुनेछन् ।
एउटामा सवारीसाधन गुड्नेछन् भने अर्काे ईभ्याकुएसन्सँगै सुरुङभित्र विग्रेका सवारीसाधनलाई सुरक्षितसँग बाहिर ल्याउने काममा प्रयोग गरिनेछ ।
आयोजनाले दुवै सुरुङलाई जोड्नका लागि सुरुङमार्गको बीचबीचमा क्रस प्यासेज पनि बनाउँदै आएको छ । दुवैतर्फबाट खन्न सुरु गरिएको सुरुङमार्गमा हालसम्म क्रस प्यासेजका लागि १ सय २८ मिटर खन्नुपर्नेमा ७४.२० मिटर खनिएको छ ।
वर्किङ अडिटको काम भने सम्पन्न भईसकेको आयोजनाले जानकारी दिएको छ ।













