भोलिबाट घरेलु कोर्टमा हालसम्मकै ठूलो भलिबल उत्सव, चन्द्रागिरिकी स्टार प्रतिभाले ‘मिस’ गर्ने
थानकोट ।
काठमाडाैंमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप-२०२३ सोमबारबाट सुरु हुँदैछ । तुलनात्मक रूपमा नेपाल भलिबल संघले आयोजना गर्न लागेको यो सबैभन्दा ठूलो प्रतियोगिता हो ।
यसअघि संघले पुरुषतर्फ एभीएसी सेन्ट्रल जोन सिनियर भलिबल प्रतियोगिता पनि आयोजना गरेको थियो । तर, सहभागी राष्ट्रको हिसाबमा यस प्रतियोगितालाई सबैभन्दा ठूलो मान्न सकिन्छ ।
पुरुषतर्फ एभीएसी सेन्ट्रल जोन सिनियर भलिबल प्रतियोगिता आयोजना सम्पन्न गरेको चार वर्ष बितिसकेको छ । तर, भलिबल संघको अनुभवमा भने निखारता आएको छैन । विशेष गरी व्यवस्थापनमा । संघले आइतबार सहभागी टिमको कप्तानलाई राखेर प्रतियोगिता अघि हुने पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
त्यतिमात्र होइन । सबै कप्तानले आ–आफ्नै भाषामा टिमको तयारीबारे जानकारी दिए । उक्त भाषालाई उल्था गर्ने केही व्यक्ति थिएन । जसका कारण कप्तान र पत्रकारहरूबीच दोहोरो संवाद नै हुन पाएन ।
प्रतियोगितामा आयोजक नेपाल समूह ‘ए’मा छ । यस समूहमा कीर्गिस्तान, भारत र बंगलादेश छन् । समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकिस्तान छन् ।
नेपाल यस प्रतियोगिताको पछिल्लो दुई संस्करणको विजेता हो । यसपटक घरमै आयोजना हुन लागेको यस प्रतियोगितामा नेपाललाई उपाधिमा ह्याट्रिक गर्ने अवसर छ । नेपाललाई अवसर जति छ, चुनौती पनि त्यति नै छ ।
समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यसकारण नेपाललाई समूह चरणमै कठिन चुनौतीको सामना गर्नुपर्नेछ । समूहमा उपविजेता बने सेमिफाइनलमा काजकिस्तानविरुद्ध खेल्नुपर्ने सम्भावना प्रबल हुन्छ । त्यसकारण यसपटक नेपाललाई फाइनल पुग्नु नै मुख्य चुनौती हुनेछ ।
यसपटक नेपालकी महत्वपूर्ण खेलाडी प्रतिभा माली टिममा छैनन् । चोटका कारण अन्तिम अवस्थामा उनको नाम हटाइएको थियो । ६ नयाँ अनुहार टिममा छन् । स्पाइकर रिमा कुँवर, पूजा चौधरी, मिडल ब्लकर कविता भट्ट, संगम महतो, सेटर प्रगति नाथ र लिबेरो शान्तिकला तामाङ टिममा नयाँ अनुहार हुन् ।
प्रतिभा नेपालकी मुख्य स्पाइकर हुन् । उनी नहुँदा टिमको आक्रमण केही कमजोर हुने पक्का छ । तथापि, कप्तान अरुणाले प्रतिभा नभए पनि टिम सन्तुलित रहेको दाबी गरिन् । अरुणाले थपिन् “प्रतिभा नहुनु टिमको लागि मुख्य सेटब्याक हो । प्रतिभा नभए पनि सन्तुलित टिम बनेको छ । हामीले सबै टिमलाई हराउन सक्ने क्षमता राख्छौँ ।”













