हेटौंडामा सुरु भयो दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता
थानकोट ।
बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा दोस्रो प्रदेश खेलकुद प्रतियोगिता हेटौंडामा सुरु भएको छ । प्रतियोगिताको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन् गर्नुभयो । हेटौंडाको क्याम्पाडाँडा खेल मैदानमा भव्य समारोहका बिचमा खेलकुद प्रतियोगिताको उद्घाटन् गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेशका सभामुख भुवन कुमार पाठक, प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तान, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, मन्त्रालयका सचिवहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रदेशका खेल प्रतिभाको खोजीका साथै प्रदेशको टिम तयार र खेलाडीलाई नियमित अभ्यास एवम् प्रशिक्षणको वातावरण बनाउने उद्देश्यका साथ दोस्रो वर्ष पनि प्रतियोगिता सुरु गरिएको हो । यस वर्ष विभिन्न १३ वटा खेल विधामा ७९४ पदकका लागि २ हजार ५०२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो वर्ष ८ वटा विधामा स्पर्धा भएकोमा यस वर्ष फुटबल, भलिबल, एथ्लेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, उसु, जुडो, क्रिकेट, रग्वी, ब्याड्मिन्टन, पौडी र आईटिएफ तेक्वान्दोको खेल सञ्चालन हुने भएको छ ।
एकहजार ७५ महिला र एकहजार ४२७ पुरुष गरी २ हजार ५०२ जना खेलाडीले २१९ स्वर्ण, २१९ रजत र ३५६ कास्य गरी ७९४ पदका लागि खेल्ने छन् । पदक विजेता खेलाडीहरुले पदकसहित नगद पुरस्कार समेत प्राप्त गर्नेछन् । प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः जनही नगद ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
महिला तथा पुरुष फुटबल, एथ्लेटिक्स, महिला र पुरुष भलिबल, रग्वी, कराते, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, बक्सिङ र ब्याड्मिन्टनका खेलहरु हेटौंडामा हुनेछ भने उसु र जुडो काठमाडौंमा हुनेछ ।
पौडी ललितपुरमा र महिला तथा पुरुष क्रिकेट प्रतियोगिता चितवनमा हुनेछ ।
हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा मिनी रंगशालामा भएको उद्घाटनमा खेलाडीहरुको मार्चपास सहित नेपाल आर्मी र नेपाल प्रहरीको प्रस्तुती, झाँकी र राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो । प्रतियोगिताका लागि करिब ९ करोड ४२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि विभिन्न उपसमिति निर्माण गरिएको छ ।













