थानकोटका ३ जना खेलाडीलाई दोश्रो बागमती प्रदेश खेलकुदमा स्वर्ण पदक
थानकोट ।
बागमती प्रदेशको राजधानी हेटाैंडामा जारी दोश्रो प्रदेश खेलकुद प्रतियोगितामा काठमाडाैं जिल्लाका लागि चन्द्रागिरि नगरपालिकाका तीन जना खेलाडीले स्वर्ण पदक जित्न सफल भएका छन् ।
चन्द्रागिरि नगरपालिका-३ थानकोटका राम गोले, लक्ष्मण गोले तथा सागर बरालले तेक्वान्दो खेलका फरक फरक विधामा स्वर्ण पदक चुमेका हुन् ।
प्रतियोगिताको ग्रुप पुम्सेमा रम गोले र लक्ष्मण गोले, सागर बरालले स्वर्ण पदक जितेका हुन् । यसैगरी पुरूष एकल पुम्सेमा राम गोले र पियर पुम्सेमा सागर बरालले स्वर्ण पदक जितेको बताइएको छ।
यसैबीच चन्द्रागिरि नगरपालिका वडा नं. ३ को कार्यालयले दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने तीनै जना खेलाडीहरूलाई सम्मान गरेको छ । शुक्रबार वडा कार्यालयमा वडाध्यक्ष दुर्गालाल महर्जन तथा अन्य जनप्रतिनिधिहरूले उनीहरूलाई नगदसहित सम्मान गरेका हुन् ।
दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा चन्द्रागिरि नगरबाट विभिन्न खेलका खेलाडीहरूले काठमाडाै जिल्लाका तर्फबाट एकल र सामुहिक रूपमा प्रतिस्पर्धा गरिरहेका छन् । जसमा भलिबल, फुटबल, तेक्वान्दो, कराँते लगायतका खेलहरू रहेका छन् ।
महिला भलिबलमा चन्द्रागिरि नगरपालिका नैकापस्थित न्यूडायमण्ड एकेडेमीका अधिकाशं खेलाडी सम्मिलित काठमाडाैं जिल्लाको टोलीले स्वर्ण पदक जितेको छ भने पुरूष फुटबलमा चन्द्रागिरि नगरपालिका थानकोटस्थित वीआर व्रदर्श क्लबका सात खेलाडी सम्मिलित काठमाडाैं जिल्लाको टोली फाइनलमा प्रवेश गरेको छ ।












