प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगिताः चन्द्रागिरि नगरको विजयी शुरुवात
थानकोट ।
प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगिता २०७९-०८० अन्तर्गत पहिलो दिन काठमाडौं महानगर‚ कागेश्वरी र चन्द्रागिरि नगरपालिकाले विजयी शुरुवात गरेका छन्।
चमती खेलकुद पार्क संरक्षण समितको आयोजना र अखिल नेपाल कबड्डी संघको प्राविधिक सहयोगमा आयोजना भएको प्रतियोगितामा पहिलो दिन शनिबार चन्द्रागिरि नगरपालिकाले शंखरापुर नगरपालिकालाई ४४-२८ को स्कोर पराजित गर्दा काठमाडौं महानगरपालिकाले गोकर्णेश्वर नगरपालिकालाई ४१-१५ तथा कागेश्वरी नगरपालिकाले टोखा नगरपालिकालाई ५८-३२ स्कोरले पराजित गर्दै विजयी शुरुवात गरेका हुन्।
काठमाडौं महानगरपालिको सामाजिक विभागको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा काठमाडौं जिल्लाभित्रका कुल ६ नगर तथा एक क्लबले सहभागिता जनाएका छन्।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा आइतबार तीन खेल हुनेछन्।
सेमिफाइनल र फाइनल खेल सोमबार हुनेछन्।
प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले समान ५/५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक भगवान प्रजापतिले जानकारी दिए।













