काभा वुमन्स् भलिबल च्यालेन्ज कप: तेस्रो स्थानका लागि भिड्दै नेपाल, फाइनल पनि आजै

Thankot Times

थानकोट । 

काठमाडाैंमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले आज तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

घरेलु टोली नेपाल र उज्वेकिस्तान बीचको खेल बिहान ११ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुनेछ।

सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानका लागि खेल हुन लागेको हो।​

कजाकस्तानसँग नेपाल पाँच सेटमा पराजित भएपछि फाइनल पुग्न असफल भएको थियो। पहिलो सेट गुमाएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेलमा अग्रता बनाएको थियो। तर चौथो र पाँचौ सेटमा लय गुमाउँदा घरेलु समर्थक निराश बने।

अर्को सेमिफाइनलमा उज्वेकिस्तानको चुनौती भारतले सोझो सेटमा पन्छाएको थियो। सन् २०२१ मा सेन्ट्रल जोनको उपाधि जित्दा नेपालले उज्वेकिस्तानलाई पराजित गरेको थियो। यान डि ब्रान्डको प्रशिक्षण र अरुणा शाहीको कप्तानीमा रहेको नेपाल तेस्रो हुँदै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा छ।

यो खेलपछि नेपाल एसियाली खेलकुदको तयारीमा जुट्नेछ। नेपालको महिला भलिबल टिमले पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाउन लागेको हो।

उपाधिका लागि आजै भारत र कजाकस्तान आमनेसामने हुनेछन्।

फाइनल खेल अपराह्न ४ बजेपछि सुरु हुनेछ।

प्रतियोगितामा ८ राष्ट्र सहभागी भएका थिए। जसमा श्रीलंका पाँचौँ, कीर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बंगलादेश आठौँ स्थानमा रहे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *