काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपाललाई तेस्रो स्थान

Thankot Times

थानकोट ।

नेपाल काभा महिला भलिबल च्यालेन्ज कप-२०२३ मा तेस्रो भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै नेपालले तेस्रो स्थान हासिल गरेको हो ।

नेपालले पहिलो सेट २५-२० ले उज्वेकिस्तानलाई सुम्पिएको थियो ।

त्यसपछि पुनरागमन गरेको नेपालले दोस्रो सेट २५-१६ले जित्यो । यस्तै तेस्रो सेट २५-१५ र चौथो सेट २५-१३ ले जित्यो ।

सन् २०२१ मा सेन्ट्रल जोनको उपाधि जित्दा नेपालले उज्वेकिस्तानलाई नै पराजित गरेको थियो । घरेलु टोली नेपालविरुद्ध उक्त पराजयको बदला लिन फेरि एकपटक उज्वेकिस्तान चुक्यो । प्रतियोगिताको सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानका लागि खेल भएको हो ।

सेमिफाइनलमा काजखस्तानसँग नेपाल पाँच सेटमा पराजित भएपछि फाइनल पुग्न असफल भएको थियो । पहिलो सेट गुमाएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेलमा अग्रता बनाएको थियो । तर चौथो र पाँचौ सेटमा लय गुमाउँदा घरेलु समर्थक निराश बने । अर्को सेमिफाइनलमा उज्वेकिस्तानको चुनौती भारतले सोझो सेटमा पन्छाएको थियो ।

जितसँगै यान डि ब्रान्डको प्रशिक्षण र अरुणा शाहीको कप्तानीमा रहेको नेपालले तेस्रो हुँदै प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।

यो खेलपछि नेपाल एसियाली खेलकुदको तयारीमा जुट्नेछ । नेपालको महिला भलिबल टिमले पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाउन लागेको हो ।

उपाधिका लागि आजै भारत र काजखस्तान आमनेसामने हुनेछन् । फाइनल खेल अपराह्न ४ बजेपछि सुरु हुनेछ ।

प्रतियोगितामा ८ राष्ट्र सहभागी भएका थिए । जसमा श्रीलंका पाँचौँ, कीर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बंगलादेश आठौँ स्थानमा रहे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *