नीति तथा कार्यक्रम पढ्न पुगेका बागमती प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले रित्तो फाइल दिएपछि…

Thankot Times

थानकोट ।

बागमती प्रदेशको आइतबारको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम पढ्ने कार्यसूची थियो।

सोही अनुसार प्रदेश सभाको बैठक सुरु भएको थियो।

बैठक सुरु भएपछि नियमित प्रक्रियाअन्तर्गत सभामुख भुवन पाठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नीति तथा कार्यक्रमको प्रति प्रदेश प्रमुख शर्मा समक्ष पेस गर्न अनुमति दिए।

मुख्यमन्त्री आफ्नो स्थानबाट उठे। रोस्ट्रममा पुगेर प्रदेश प्रमुखलाई फाइल हस्तान्तरण गरे। साथै, फाइललाई बाँधिएको रिबन खोल्न र ‘र्‍याथपिङ पेपर’ खोल्न सहयोग गरे। त्यसपछि उनी यथास्थानमा फर्किए।

प्रदेश प्रमुख शर्माले आफ्ना लागि तय गरिएको कुर्सीमा बसेर जब फाइल खोले। त्यहाँ आफूले पढ्ने नीति तथा कार्यक्रमको प्रति देखेनन्। उनले प्रदेश सभा सदस्यहरुतिर हेरे र रित्तो फाइल खोलेर देखाए।

त्यतिञ्जेल सभामुख पाठकले सो विषय थाहा नपाएको जस्तो देखिन्थ्यो। उनले प्रदेश प्रमुखलाई नीति तथा कार्यक्रम वाचन गर्न समय दिन खोजे। तर उनलाई रोकियो। उनी पनि अन्योलमा परे।

पुनः मुख्यमन्त्री जम्कट्टेलले नीति तथा कार्यक्रमको अर्को पुस्तिका रोस्ट्रममै पुगेर प्रदेश प्रमुख शर्मालाई सुम्पिए। सभामुखले पनि प्रदेश प्रमुख शर्मालाई सम्बोधनका लागि समय दिए।

त्यसपछि भने बाँकी प्रक्रिया सुरु भयो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *