विश्व क्रिकेट लिग-२ मा हरेक जित बापत नेपाली क्रिकेटरले जनही २० हजार रुपैयाँ पाउने

Thankot Times

थानकोट । 

नेपाली क्रिकेटरहरूले आईसीसी क्रिकेट विश्वकप लिग टुको खेलमा एउटा जित बराबर खेलाडीले जनही २० हजार रुपैयाँ पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले नेपाली जितेका खेलमा सहभागी खेलाडीलाई प्रति जित २० हजार रुपैयाँका दरले नगद पुरस्कार दिने निर्णय गरेको हो ।

नेपालले लिग २ मा ३६ मध्ये १९ खेल जितेको थियो भने एक खेल बराबरी गरेको थियो । ३६ खेलबाट नेपाल ४० अंक जोडेर तेस्रो हुँदै विश्वकप छनोटमा प्रवेश गरेको थियो ।

खेलाडीको उत्कृष्ट प्रदर्शनलाई कदर गर्दै लिग टुमा विजयी भएको खेलमा सहभागी खेलाडीलाई नगद दिने निर्णय गरेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए । क्यानको विशेष साधारण सभाले उक्त निर्णय गरेको उनले बताए ।

उनले बराबरी भएको खेलसहित २० खेलमा सहभागी भएका हरेक खेलाडीलाई २० हजारका दरले नगद प्रदान गरिने बताए । ‘२०२० फेब्रुअरीमा भएको पहिलो खेलमा सहभागी खेलाडीले समेत यो रकम पाउनेछन्,’ उनले भने, ‘पारस खड्का, शरद भेषवाकर, सुवास खकुरेल लगायतखेलाडीले पनि रकम पाउनेछन् ।’

नेपालले खेल जितेको शृंखलामा अन्तिम टोलीमा रहेका खेलाडीले खेल नखेलेपनि उक्त पुरस्कार पाउने पाठकले बताए ।

नेपालले जितेको सबै खेलमा सहभागी हुनेमा वर्तमान कप्तान रोहितकुमार पौडेल, करण केसी र दीपेन्द्र सिंह ऐरी छन् । उनीहरुले ४ लाखका दरले पाउनेछन् ।

नेपालले मोन्टी देसाईको आगमनपछि अन्तिम तीन शृखंलामा अभुतपूर्ण प्रदर्शन गर्दै १२ मध्ये ११ खेल जितेर लिग टु मा शीर्ष तीनमा रहँदै ओडीआई मान्यता जोगाउनुका साथै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

पछिल्लो तीन शृंखलामा टिममा रहेका खेलाडीलाई पुरस्कृत गर्ने कि भनेर छलफल सुरु हुँदा नेपालको सफलतामा सबै खेलाडीको योगदान रहेकोले सुरुवातदेखि नै टिममा रहेका खेलाडीले नगद दिने निर्णय गरेको कार्यवाहक सचिव पाठकले स्पष्ट पारे ।

२०२० फेब्रुअरीमा नेपालले ओमान र अमेरिकासहित घरेलु मैदानमा शृंखला खेल्दा नेपालले दुई खेल जितेको थियो । उक्त शृखंलामा टिममा रहेका पूर्व कप्तान पारस खड्काले पनि दुई जित बापत ४० हजार पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *