काठमाडौं-हेटाैंडा रोपवेमा बागमती सरकारको आँखा

Thankot Times

थानकोट ।

लगानी बोर्डले निजी क्षेत्रमार्फत काठमाडौंदेखि प्रादेशिक राजधानी हेटौंडा रज्जुमार्ग (रोपवे) सञ्चालनको योजना अघि बढाएको छ। तर, सोही रोपवे आयोजनालाई बागमती प्रदेश सरकारले  पुनर्निर्माण गर्ने योजना सार्वजनिक गरेको छ।

बागमती प्रदेश सरकारले जेठ १४ मा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा संघीय सरकारसँग समन्वय गरी बन्द अवस्थामा रहेको काठमाडौंदेखि हेटौंडासम्मको रज्जुमार्गलाई यात्रु तथा मालसामान ओसारपसार गर्ने गरी पुनर्निर्माण गरिने उल्लेख छ।

काठमाडौंदेखि हेटौंडासम्म रोपवे पूर्वाधार निर्माण तथा सञ्चालनका लागि गोसाइँकुण्ड हिल्सले लगानी बोर्डमा प्रस्ताव पेस गरेको छ।

कम्पनीले हेटौंडादेखि काठमाडौंसम्म ४२ किलोमिटर लामो रोपवे निर्माण तथा सञ्चालनका लागि प्रस्ताव पेस गरेको हो। कम्पनीले रोपवे पूर्वाधार बनाउन साढे २१ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमानित लागतसमेत पेस गरेको छ। विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारपछि मात्रै लागत यकिन हुनेछ।

Capture1686709015.JPG

गोसाइँकुण्डले परियोजनाको सम्भाव्यता अध्ययन, लगानी स्वीकृति र सर्वेक्षणका लागि अनुमति मागेको  छ। पहिलाको रोपवे संरचनाबाट नयाँ आयोजना बनाउने तयारी गोसाइँकुण्डको छ।

हिल्सले जापानी कम्पनीसँगको साझेदारीमा बनाउने तयारी गरेको हो। गोसाइँकुण्डले लगानीको प्रस्ताव पेस गरेका बेला यता बागमती प्रदेश सरकारले पनि हेटौंडादेखि काठमाडौं जोड्ने ४२ किलोमिटर लामो रोपवे पुनः सञ्चालनमा ल्याउने गृहकार्य सुरु गरेको जनाएको छ। यसअघिको बजेटमा पनि प्रदेश सरकारले रोपवे सञ्चालन गर्ने बताएको थियो।

प्रदेश सरकारले रोपवे सञ्चालनमा ल्याउन आर्थिक वर्ष २०७७/७८ मा बजेट विनियोजन गरेको थियो।

भौतिक मन्त्रालयका कारण प्रक्रिया अवरुद्ध

हेटौंडादेखि काठमाडौंसम्म निजी लगानीमा रोपवे बनाउने योजना अहिले रोकिएको छ। भौतिक पूर्वाधार तथा मन्त्रालय सकारात्मक नभएपछि परियोजनाको प्रारम्भिक काम रोकिएको हो।

रोपवे पूर्वाधार निर्माण तथा सञ्चालनका लागि गोसाइँकुण्ड हिल्सले लगानी बोर्डमा प्रस्ताव पेस गरेको थियो। गोसाइँकुण्डले पहिलो बटम स्टेसन राख्न प्रस्ताव गरेको हेटौंडाको चौकीटोलमा भौतिक मन्त्रालयले भेहिकल फिटनेस सेन्टर बनाउन लागेपछि रोपवेको प्रस्ताव अलपत्र परेको हो क्यापिटल नेपालमा खबर छ ।

भौतिक पूर्वाधार मन्त्रालयसँग राय माग्दा सकारात्मक प्रतिक्रिया नदिएको बोर्डले जनाएको छ। गोसाइँकुण्डले पहिलाको रोपवे संरचना हटाएर त्यहीँबाट नयाँ सञ्चालनको प्रस्ताव गरेको छ। उक्त संरचनाअनुसार रोपवेको बटम स्टेसन हेटौंडाको चौकीटोलमा हुनेछ। भौतिक मन्त्रालयबाट सकारात्मक प्रतिक्रिया नआएपछि बोर्डले फेरि छलफल थाल्ने भएको छ।

अमेरिकाको आर्थिक तथा प्राविधिक सहयोगमा २०२० सालमा हेटौंडा–काठमाडौं सामान ढुवानी गर्न रोपवे सञ्चालन हुँदै आएको थियो। प्रभावकारी सञ्चालन हुन नसक्दा २०५६ जेठदेखि रोपवे बन्द छ। त्यसबेला हेटौंडाबाट सिमेन्टलगायत अन्य वस्तु काठमाडौं आपूर्ति हुने गरेको थियो।

लामो समयदेखि बन्द भएपछि अहिले रोपवेका सबै संरचना कवाडी बनेका छन। अधिकांश सामान चोरी भइसकेका छन। २०५९ मा प्रधानमन्त्री शेरबहादुर देउवाले रोपवे खारेजीको निर्णय गरेपछि पुनः सञ्चालनको सम्भावना टरेको थियो।  

पुरानो रोपवे सञ्चालनको अवस्थामा हेटौंडाबाट फाखेल, सिस्नेरी, ईपा पञ्चकन्या, कुलेखानीका स्थानीयले दैनिक खाद्यान्न, तरकारी, लत्ताकपडा, सिमेन्ट, जस्तापाता र औषधीलगायत सुपथ मूल्यमा ढुवानी गर्न पाएका थिए।

त्यसबेला हेटौंडाबाट काठमाडौंको टेकुतर्फ स्थानीय व्यापारीले सिमेन्ट, खाद्यान्न, लत्ताकपडा, जस्तापाता, मार्बल, औषधी, इन्धन ढुवानी गरी सुपथ मूल्यमा पठाउने गरिएको थियो। विशेषगरी हेटौंडा सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्ट पनि रोपवेबाट आपूर्ति हुने गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *