ट्रेड युनियन कांग्रेसको राष्ट्रिय अध्यक्षमा थानकोटका योगेन्द्र कुँवरसहित २ जनाको दाबेदारी

Thankot Times

थानकोट ।

नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयुसी)को ७ औं राष्ट्रिय महाधिवेशन भोलि असार ४ देखि ६ गतेसम्म हुँदैछ । काठमाडौँमा हुन लागेको महाधिवेशनको सोमबार दिउँसो १ बजे उद्घाटन हुँदैछ । 

एनटीयुसीको ७ औं राष्ट्रिय महाधिवेशन नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मंगलबार बन्द सत्रको कार्यक्रम तय भएको छ भने असार ६ गते मतदानको प्रक्रिया सुरु हुनेछ । 

एनटीयुसीको ४९ सदस्यीय कार्यसमितिमा १७ जना पदाधिकारी रहने व्यवस्था छ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष (खुला), उपाध्यक्ष (महिला), उपाध्यक्ष (सेवा), उपाध्यक्ष (उत्पादन), उपाध्यक्ष (अनौपचारिक)को व्यवस्था छ । 

यस्तै, महासचिव, दुई जना उपमहासचिव (खुला), उपमहासचिव (महिला) उपमहासचिव (सेवा), उपमहासचिव (उत्पादन), उपमहासचिव (अनौपचारिक), कोषाध्यक्ष र सह–कोषाध्यक्षको निर्वाचन हुन्छ ।

कांग्रेसको शुभेच्छुक संस्था एनटीयुसीमा नेपाल शिक्षक संघदेखि नेपाल प्रेस युनियनसम्म २७ वटा संस्था सम्बद्ध छन् । 

माउ पार्टी कांग्रेसको संस्थापन र इतर पक्ष एनटीयुसीमा पनि प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने भएको छ ।

एनटीयुसीको अध्यक्षका लागि महेन्द्रप्रसाद यादव र योगेन्द्र कुमार कुँवरबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

यादव वर्तमान वरिष्ठ उपाध्यक्ष र कुँवर महासचिव हुन् । 

यादव संस्थापन इतरपक्षीय उम्मेदवार हुन् भने कुँवर उपसभापति पूर्णबहादुर खड्का निकट मानिन्छन् ।

कुँवर पार्टीको संस्थापन पक्षको प्रतिनिधिका रुपमा चुनावी मैदानमा उत्रिने तयारीमा छन् । यसअघि उनी संस्थापन इतरपक्षबाट महासचिव जितेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ