मेयर गिरीलाई नेकपा एमाले चन्द्रागिरि नगर कमिटिको ध्यानाकर्षण पत्र, पत्रका १० बुँदामा के के छन् ?
थानकोट ।
नगरको नीति तथा कार्यक्रम सार्वजनिक हुनै लाग्दा नेकपा एमाले चन्द्रागिरि नगर कमिटिले नगरप्रमुख घनश्याम गिरी तथा उपप्रमुख बसन्ती श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
मंगलबार सो पार्टीका चन्द्रागिरि नगर कमिटि अध्यक्ष राजु श्रेष्ठ नेतृत्वको टोलीले नगरप्रमुखलाई विभिन्न १० बुँदा समेटिएको ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा चन्द्रागिरि नगरको वेभसाइटमा पर्याप्त मात्रामा सूचना नराखिएको, नगर क्षेत्रका सडकमा पार्किङ समस्या भएको, नगरको खानेपानी समस्या समाधान हुनुपर्ने, विद्यालयको दरबन्दी मिलान गर्नुपर्ने, अस्पतालको अवस्था सुधार गर्नुपर्ने, कवाडी कर प्रकरणको छानविनको अवस्था जानकारी गराउनुपर्ने लगायतका विषय समेटिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम निर्माण र बजेट वक्तव्यको तयारी गरिरहेको सन्दर्भमा पार्टीका तर्फबाट नगर पछिल्ला गतिविधि तथा नगरबासीहरूले भोग्दै आएका समस्या न्यूनीकरण गर्नका लागि नगरको ध्यानाकर्षण गराउन सो पत्र बुझाइएको नेकपा एमाले चन्द्रागिरि नगर कमिटिले जनाएको छ।















