साफ च्याम्पियनसिप-२०२३ः दुवै सेमीफाइनल खेल आज
थानकोट ।
जारी साफ च्याम्पियनसिपका दुवै सेमिफाइनल आज शनिबार हुँदैछ ।
भारतको बैंगलरुमा पहिलो सेमिफाइनल कुवेत र बंगलादेशबीच हुनेछ । खेल नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुनेछ । यसैगरी साँझ ७ः४५ बजे सुरु हुने दोस्रो सेमिफाइनलमा आयोजक भारत र लेबनानबीच प्रतिस्पर्धा हुनेछ ।
समूह ‘ए’बाट कुवेत समूह विजेता र भारत उपविजेताका रुपमा अन्तिम चारमा पुगेका थिए । नेपाल र पाकिस्तानलाई हराएका कुवेत र भारतबीचको खेल भने १–१ को बराबरीमा टुंगिएको थियो ।
प्रतियोगिताबाट बाहिरिसकेको दुई टोलीबीचको खेलमा भने नेपालले पाकिस्तानलाई १–० हराएको थियो ।
अर्को समूहबाट माल्दिभ्स र भुटान बाहिरिएका थिए । समूह चरणमा लेवनानले सबै ३ खेल जितेको थियो भने बंगलादेशले माल्दिभ्स र भुटानलाई समान ३–१ ले हराएको थियो । लेवनान समूह विजेता र बंगलादेश उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् ।
दक्षिण एसियाको प्रतिष्ठित साफमा पहिलो पटक यो क्षेत्रबाहेकका कुवेत र लेवनानले सहभागिता जनाएका हुन् ।













