चुहावट नियन्त्रणका लागि इन्धन बोक्ने ट्यांकरमा ‘बटम लोडिङ’ प्रणाली, थानकोट आइपुग्दै २ वटा ट्यांकर
थानकोट ।
नेपाल आयल निगमले इन्धन बोक्ने ट्यांकरमा नयाँ प्रविधि ‘बटम लोडिङ’ प्रणाली लागू गरेको छ।
निगमले सुरुमा दुई वटा ट्यांकरमा ‘बटम लोडिङ’ प्रणाली लागू गरेको हो।
निगमका अमलेखगन्ज डिपो प्रमुख विनितमणि उपाध्यायका अनुसार तत्कालका लागि जया श्री आयल डिष्ट्रिब्युटर्स प्रालिका दुई वटा ट्यांकरमा ‘बटम लोडिङ’ प्रणाली जडान गरिएको हो। बिहिबार मोतिहारी डिपोबाट इन्धन लोड गरेर हिंडेका ती ट्यांकर आइतबार थानकोट डिपो आइपुग्ने छन्।
चुहावट नियन्त्रणका लागि भन्दै नयाँ प्रणाली जडान गरिएको हो। आगलागीको जोखिम पनि कम हुने यो प्रणाली सुरुमा केही खर्चिलो हुन्छ। ‘बटम लोडिङ’ प्रणालीमा ट्यांकरको तल्लो भागबाट बन्द गरिएको अवस्थामा पेट्रोलियम पदार्थ लोड अनलोड गर्न सकिन्छ।
यो प्रणालीमा पेट्रोलियम पदार्थ लोड अनलोड गर्दा चुहावट नहुनुका साथै सुरक्षित पनि हुने उपाध्याय बताउँछन्। निगमले यसअघि यस्ता प्रणाली जडान गर्दा पनि चुहावट रोकिने दाबी गर्दै आएको थियो। तर कर्मचारी र व्यवसायीको मिलेमतोमा तेल चोरिएका धेरै घटना छन्।












