‘बटम लोडिङ’ गरिएका २ वटा ट्याँकर थानकोट डिपो आइपुगे
थानकोट ।
पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा ‘बटम लोडिङ’ सुरु गरिएको छ । ट्यांकरको तल्लो भागमा पाइपको सहायताले इन्धन भर्ने प्रणालीले चुहावट नियन्त्रण र लोड–अनलोड कार्य छरितो हुने आयल निगमले जनाएको छ ।इन्डियन आयल कर्पोरेसनले बिहारको मोतीहारी (वीरगन्जबाट करिब ४० किलोमिटर टाढा) डिपोबाट बटम लोडिङ प्रणाली सुरु गरेपछि निगमले पनि करारमा राखेका ट्यांकरबाट सोही प्रणाली सुरु गरेको हो ।
मोतीहारीबाट पेट्रोल लिएर सोमबार बिहान निगमको बागमती प्रादेशिक कार्यालय, थानकोट आएका दुईवटा ट्यांकरबाट यो प्रणालीको सुरुवात कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सुरुवात गरेका छन् । तर, अहिले थोरै ट्यांकरबाट मात्र बटम लोडिङ थालिएको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए । ‘सुरक्षित इन्धन ढुवानीका लागि बटम लोडिङ सुरु गरेका हौँ ।
सुरुवातमा थोरै संख्याका ट्यांकरमा यो प्रणाली जडान हुनेछ,’ उनले भने, ‘बिस्तारै सबै ट्यांकरमा यो प्रणाली विस्तार गरिनेछ ।’ बटम लोडिङका लागि थप एउटा ट्यांकर आइओसीको मोतीहारी डिपोमा रहेको र चाँडै तेल भरेर आउने निगमको थानकोट डिपो प्रमुख शैलेन्द्र भुसालले जानकारी दिए ।
यो नयाँ प्रणालीबाट तेल ढुवानी कार्यको संयोजन गर्न निगमका तर्फबाट मधेस प्रादेशिक कार्यालय, अमलेखगन्जका प्रमुख विनीतमणि उपाध्याय खटिएका थिए । उनका अनुसार जयश्री आयल डिस्ट्रिब्युटर्ससँग करारमा लिएका ट्यांकरलाई ‘रेट्रोफिट’ गरी बटम लोडिङका लागि योग्य बनाइएको हो ।
बटम लोडिङका कारण ट्यांकरमा इन्धन लोड–अनलोड गर्दा हुने चुहावट शून्यमा झर्ने उपाध्यायले बताए । ‘ट्यांकरमा तेल हाल्दा वा खन्याउँदा उडेर हुने नोक्सानी शून्यमा झर्नेछ,’ निगम निर्देशकसमेत रहेका उपाध्यायले भने, ‘तेल लोड गर्दा माथिल्लो भागमा जम्मा हुने बाफलाई समेत उड्न नदिई ट्यांकरभित्रै राख्ने प्रविधि बटम लोडिङमा उपलब्ध छ ।’
निगमका अनुसार बटम लोडिङका कारण ट्यांकरमा इन्धन वा ट्यांकरबाट डिपोमा तेल खन्याउन पनि छिटो हुन्छ । टप लोडिङ प्रणालीमा प्रतिमिनेट २५ सय लिटर तेल लोड हुने गरेको छ, तर बटम लोडिङ गर्दा भने प्रतिमिनेट १२ सय लिटर तेल लोड गर्न सकिन्छ । प्रत्येक चेम्बरमा तेल पठाउन वा त्यहाँको तेल खन्याउन ‘एडप्टर’ जडान गरिएको छ ।
निगमको थानकोट डिपो प्रमुख भुसालका अनुसार अटोमेटिक प्रविधि भए पनि ट्यांकरको क्षमताभन्दा बढी तेल लोड हुँदैन । ‘यसमा रहेको प्रविधिका कारण चेम्बरको माथिल्लो भागको निश्चित तहमा तेल पुगेपछि सेन्सरले काम गर्छ र लोडिङ आफैँ बन्द हुन्छ,’ उनले भने, ‘जसकारण लोडिङका वेला तेल चुहिने वा पोखिने समस्या हुन पाउँदैन ।’त्यस्तै, तेलमा कुनै धातुको घर्षण भई आगलागीजन्य घटना हुने सम्भावना पनि न्यून हुने निगमको भनाइ छ । कुनै आपत्कालीन अवस्था देखापरे आफैँ लोडिङ–अनलोडिङ कार्य बन्द भई सुरक्षा प्रदान गर्ने पनि निगमले जनाएको नयाँ पत्रिकामा खबर छ।












