काठमाडौं उपत्यका केबलकारले ढाक्दै, सबै डाँडाकाँडा ‘रिजर्भ’

Thankot Times

थानकोट । 

काठमाडौं उपत्यकाका सबै डाँडामा केबलकार सञ्चालन गर्ने योजना व्यवसायीहरुले अघि सारेका छन्। चन्द्रागिरिमा केबलकार सहितको रिसोर्ट सञ्चालन भएपछि व्यवसायीले अरु डाँडा ‘रिजर्भ’ गरेका छन्। 

चन्द्रागिरिपछि चम्पादेवी, फुल्चोकी, शिवपुरी/नागार्जुन, पाँचखाल, साँगा, डाँडामा केबलकार सहित रिसोर्ट सञ्चालन गर्ने भन्दै उद्योग विभागमा दर्ता भएका छन्। चन्द्रागिरि हिल्स २०७३ सालबाटै सञ्चालनमा आएको थियो। 

व्यवसायीहरुले काठमाडौँमा प्रकृतिसँग रमाउन उपयुक्त गन्तव्य भन्दै केबलकारको योजना अघि बढाएका हुन्। वातावरणमा चासो राख्नेहरुले भने यसो गर्दा बोटबिरुवा, चराचुरुङ्गीको बासस्थान प्रभावित हुने बताएका छन्। 

नेपालका केबलकार र रोपवेको पूर्वसम्भाव्यता अध्ययन गर्ने र डीपीआर बनाउने रोपवे नेपालले वातावरण अनुकूल भएकाले बनाउँदा केही फरक नपर्ने उल्लेख गरेको छ।  

रोपवे नेपालका अध्यक्ष गुणराज ढकालले काठमाडौंमा मनोरञ्जन र प्रकृतिसँग रमाउन चम्पादेवी, फुल्चोकी, शिवपुरीमा केबलकार बनाउँदा उपयुक्त हुने बताए। उनले सहरबाट डाँडामा जान केबलकार एक यातायातको साधन हुनसक्ने बताए। 

‘गोदावारीबाट फुल्चोकी जान सडक बनाउनुभन्दा केबलकार बनाउनु उपयुक्त हुन्छ,’ ढकाल भन्छन्, ‘वातावरणमैत्री साधन हो र जंगलको कम क्षतिमा केबलकार निर्माण गर्न सकिन्छ।’

उनले केबलकारभन्दा सडक बनाउँदा वतावरणमा बढी क्षति हुने बताए। तर जो कसैले कम्पनी दर्ता गर्दैमा केबलकार निर्माण गर्न नसक्ने बताए। 

‘काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्दा कुनै समस्या हुँदैन। तर लगानी र व्यवस्थापन गर्ने कुरा लहडमा हुँदैन,’ उनी भन्छन्। 

चम्पादेवी केबलकारका सञ्चालक कमलेश अग्रवालले काठमाडौं उपत्यकामा ४–५ वटा केबलकार चलाउँदा व्यवसायिक रुपमा धान्न सकिने दाबी गरे। उनले सबैले आ–आफ्नो मोडलमा व्यवसाय सञ्चालन गर्ने भएकोले अस्वस्थ प्रतिस्पर्धा नहुने बताए। 

‘सहरको भिडभाडबाट एकैछिन भए पनि टाढा गएर आनन्द लिन चाहनेहरु केबलकारबाट डाडाँमा पुगरे रिफ्रेस भएर फर्किन्छन्,’ उनी भन्छन्, ‘उपत्यकाको लागि राम्रै हुन्छ।’

वन मन्त्रालयका सहसचिव धीरेन्द्रकुमार प्रधानले पछिल्लो समय केबलकार दर्ता भएको सुनिए पनि वातावरणीय अध्ययनको अनुमतिका लागि प्रस्ताव नआएको बताए। 

‘कुन ठाउँमा बनाउँदा उपयुक्त हुन्छ, हुँदैन, व्यावसायिक पक्ष छुट्टै होला,’ मन्त्रालयको वन महाशाखा प्रमुख प्रधानले भने, ‘उपत्यकाका सबै डाँडामा केबलकार बनाउँदा वनस्पति र चराचुरुङ्गीको पनि ख्याल गर्नुपर्छ।’

कुनै पनि डाँडामा सडक बनाउनु भन्दा केबलकार बनाउन वातावरणीय हिसाबले उपयुक्त भए पनि एउटै क्षेत्रमा कतिसम्म बनाउँदा ठिक हुन्छ भन्ने कुरा वातावरणीय पक्षसँगै व्यावसायिक पक्षसँग पनि जोडिने उनले बताए।

उद्योग विभागका निर्देशक हरि पंगेनीले सम्बन्धित निकायबाट केबलकार सञ्चालनको अनुमति पाएपछि उद्योगको रुपमा दर्ता गरिने बताए। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन पूर्वधार विकास आयोजनाले केही वर्षअघि काठमाडौंमा केबलकारको सम्भाव्यता अध्ययन गरेको थियो। गोदावरी फुल्चोकी, बुढानीलकण्ठ शिवपुरी हिल्स र थानकोट चन्द्रगिरि हिल्सको विषयमा अध्ययन गरेको थियो।

अहिले पर्यटन मन्त्रालयमा केबलकारलाई अनुमति दिने व्यवस्था नै हटेको छ। 

‘पहिला चन्द्रागिरि हिल्सले पनि पूर्व अनुमति लिएको थियो,’ पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले भने, ‘पर्यटन प्रयोजनका लागि धेरै केबलकार निर्माण हुन थालेपछि खोज्दा दर्ता गर्ने व्यवस्था हटेको रहेछ।’

साहसिक पर्यटन लगायतको पूर्वधार निर्माणमा विभागले नै अनुमति दिन्छ। केबलकारको पनि विभागले दिने व्यवस्था भए पनि अहिले कानुनी व्यवस्था नै परिवर्तन भई कसैले अनुमति लिने नगरेको महानिर्देशक लुइँटेलले बताए। 

केबलकार निर्माणको अनुमति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिइएको छ। प्राविधिक जनशक्ति नै नभएको मन्त्रालयले अनुमति दिने गरेको छ नेपाल खबरमा समाचार छ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *