काठमाडौं महानगरमा खुला दूध तथा चटपटे-पानीपुरीको बिक्री तत्कालका लागि रोक्ने तयारी

Thankot Times

थानकोट । 

काठमाडौं महानगरपालिकाले खुला रुपमा बिक्री हुने चटपटे, पानीपुरी लगायतका पसलहरु केही समयका लागि बन्द गराउने तयारी थालेको छ ।

वर्षायामसँगै खुला रुपमा बिक्री हुने खानाहरुमा सरुवा रोगको जोखिम बढेको भन्दै बन्द गराउन सकिने विषयमा महानगरमा छलफल भएको हो ।

महानगरपालिकाले पानीपुरीलगायत डेरीजन्य उत्पादनको परीक्षण गरेर मात्रै निर्णय गर्ने तयारी पनि गरेको छ । चटपटे, पानीपुरी, मोही,दही, खुला दूधलगायतमा पानी प्रयोग हुनसक्ने भन्दै अन्य पदार्थको परीक्षण गरेर महानगरले यस्ता वस्तुको बिक्री रोक्न खोजेको हो ।

खुला रुपमा बिक्री हुने पसल तथा बजारमा निगरानी बढाएर बर्खायाममा फैलन सक्ने संक्रामक रोग रोक्न भन्दै संयोजक डंगोलले व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन निर्देशन दिएकी छन् । माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थमा दूषित पानीको प्रयोग भए चाँडो संक्रमण फैलन सक्ने जोखिम हुन्छ ।

समितिको बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पानीपुरी, चटपटेजस्ता खाने कुरामा उपभोक्ताहरु झुम्मिने गरेको भन्दै उनले त्यस्ता खाने कुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउन सकिने बताएका थिए ।

काठमाडौं उपत्यकामा खुला दूध प्लाष्टिकमा हालेर रबरले बाँधेर समेत बिक्री वितरण हुने गर्छ । यस्तै, खुला रुपमा बिक्रीका लागि ल्याइने तरकारी भिजेर केही भाग बिग्रिएको हुन्छ । स्वास्थ्यका दृष्टिले यस्ता खाने कुरा अस्वस्थ्यकर मानिन्छ ।

केही दिनअघि काठमाडौं महानगरले पानीको जार समेत अनुगमन गरेको थियो । अनुगमनका क्रममा कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्ने गरेको पाइएपछि केही व्यवसायीलाई महानगरले सचेत गराएको थियो । यस्तै, केही जार जफत र नष्ट समेत गरिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *