कित्ताकाट खुलाउने निर्णयले कलंकी मालपोतमा बढ्न थाल्यो चहलपहल
थानकोट ।
जग्गाको कित्ताकाट खुलाउने निर्णय, बैंक ब्याजदर सस्तिने मनोविज्ञान लगायत कारण घरजग्गा कारोबार लयमा फर्किने संकेत देखिन थालेको छ।
काठमाडौं उपत्यकासँगै देशका धेरै मालपोत कार्यालयमा पछिल्लो समय सेवाग्राहीको आउजाउ बढ्न थालेको छ। जग्गा किनबेचको विषयमा आवश्यक परामर्श लिन सेवाग्राही मालपोत कार्यालय धाउन थालेका हुन्।
सरकारले साउन ३० गते जग्गा कित्ताकाट खुलाउने निर्णय गरेपछि विभिन्न कारणले जग्गा टुक्र्याउन नपाएका सेवाग्राही मालपोत धाउन थालेका छन्। बैंक तथा वित्तीय संस्थाले विभिन्न स्किमसहित आकर्षक घर कर्जा घोषणा गरेपछि ग्राहकले किन्नका लागि चासो दिन थालेका छन्।
काठमाडौंको कलंकी मालपोत कार्यालयका प्रमुख हरिकृष्ण सुवेदीले घरजग्गा कारोबार क्रमिकरुपमा सुधार हुँदै गएको बताए। अलि सुधार आउन लागेको हो कि भन्ने संकेत देखिएको उनको भनाइ छ।
‘आर्थिक वर्षको पहिलो महिना साउनमा त्यति धेरै बढिहाल्ने त होइन। अलिअलि सुधार आउन लागेको हो कि जस्तो देखिन्छ। वैशाख, जेठको तुलनामा साउनमा सेवाग्राहीको चहलपहल बढ्दै गएको छ,’ सुवेदीले भने, ‘बैंकहरुले विस्तारै ऋण दिन थाले भन्ने हल्ला छ। चहलपहल त्यही भएर बढेको छ।’
कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णयबारे भने मालपोत कार्यालयहरुमा परिपत्र पुगेको छैन। अर्को हप्तासम्म परिपत्र मालपोत कार्यालयहरुमा पुग्ने र त्यसपछि कारोबार थप बढ्ने अपेक्षा छ।
‘धेरै सेवाग्राही कित्ताकाट खुलेको हो/होइन भनेर मालपोतमा आउन थालेका छन्। परिपत्र हामीसम्म आइसकेको छैन। यसैलाई कुरेर सेवाग्राही बसेको देखिन्छ। अबको एक डेढ हप्तादेखि घरजग्गा कारोबारमा नयाँ सिनारियो देखिन सक्छ,’ सुवेदीले भने बीजमाण्डुमा खबर छ ।














