यसकारण भटाभट मर्दैछन् टाैदहमा सलबलाइरहेका माछा
थानकोट ।
आन्तरिक पर्यटनको केन्द्र रहेको कीर्तिपुरस्थित टौदहमा २ हजार भन्दा बढी माछा मरेका छन् ।
गतसाता काठमाडौंमा परेको भीषण वर्षापछि टौदह वरिपरिको ढल पोखरीमा छिर्दा माछाहरु मरेका हुन् । जसले गर्दा टौदह दुर्गन्धित बनेको छ ।
टौदह व्यवस्थापन समितिका अनुसार वरपरका खेतमा हालेको रासायनिक मल, रेष्टुरेन्ट तथा पसलहरुबाट निस्कने फोहोर, वाथरुमबाट निस्कने फोहोर पानीहरु जाने ढल वर्षाको कारण पोखरीमा पसेपछि माछा मरेका हुन् ।
मरेका माछा तीन दिन लगाएर पोखरीबाट निकालेर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको टौदह व्यवस्थापन समितिका सचिव राम आचार्यले जानकारी दिएको अनलाइनखबरमा समाचार छ ।
नगर उपप्रमुख सुनिता शाक्यले वर्षाको भेल पस्दा अघिल्लो वर्ष झैं यो वर्ष पनि माछा मरेको बताइन् । ‘माछा किन मरिरहेको छ भनेर मत्स्य विकास केन्द्रले समेत अनुसन्धान गर्दा विषाक्त पानीकै कारण भन्ने देखिएको छ । खेतमा प्रयोग भएको रसायन र ढल पोखरीमा जाँदा माछा मरेको भन्ने निष्कर्ष छ’, शाक्यले भनिन् ।












