चन्द्रागिरि नगरमा फरक-फरक मितिमा सापारु (गाईजात्रा) मनाउने निर्णय भएसँगै चर्को आलोचना

Thankot Times

थानकोट ।

यसपटकको जनैपूर्णिमा र गाईजात्रा पर्व कुन दिन मनाउने भन्ने विषयमा चर्को बहस भइरहेको छ । यही सन्दर्भमा स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन् ।

काठमाडौं उपत्यकाभित्रका स्थानीय तह तथा सांस्कृतिक संस्थाले रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गरेका छन् ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने उल्लेख गरिएको छ । यस वर्ष तिथिको घटबढका कारण दुई दिन पर्ने पर्व एकै दिन परेको समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. देवमणि भट्टराईले जानकारी दिए ।

उनका अनुसार रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइन्छ । पूर्णिमा तिथि रहेका बेला सूर्योदय भएको दिन रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व मनाउनुपर्ने भएकाले भदौ १४ गतेलाई निर्णय गरिएको प्रा. भट्टराईले बताए । ‘गाईजात्रा पर्व भने भाद्रकृष्ण प्रतिपदाका दिन मनाइन्छ । भदौ १४ गते बिहान पूर्णिमा तिथि छ,’ उनले भने, ‘सोही दिनको बिहान ७:४९ बजेपछि भाद्र कृष्ण प्रतिपदा तिथि लाग्ने भएकाले गाईजात्रा अर्थात सापारु पर्व पनि त्यसै दिन मनाउनुपर्ने निर्णय समितिले गरेको हो ।’

कीर्तिपुर नगरपालिकामा सापारू ग्वसाः खलः कुतुझ्वः आखाः खलः ले भदाै १४ गते क्वाँति पुन्हि (जनै पूर्णिमा) मान्ने, सोही दिन बेलुका बहाःबहि परिक्रमा गर्ने र भदाै १५ गते सापारु (गाई जात्रा) कार्यक्रम सञ्चालन गरिने जनाएको छ (सम्बन्धित समाचार पढाैं) ।

चन्द्रागिरि नगरपालिकाका विभिन्न वडामा फरक फरक मितिमा क्वाँति पुन्हि (जनै पूर्णिमा) र सापारु (गाई जात्रा) मनाइने सूचना जारी भएका छन् । जसको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका छन् । नेवार समुदायले एकता देखाउन नसकेको भन्दै सामाजिक सञ्जालमा कटाक्ष गरिएका हुन् ।

चन्द्रागिरि नगरपालिका सतुंगलमा सतुगंल बाजा तथा संस्कृति संरक्षण एवं व्यवस्थापन समितिको बैठकले गुंःपुन्हि (क्वाति) भाद्र १३ गते र सापारु १४ गते मनाउने निर्णय गरेको बताइएको छ (सम्बन्धित समाचार पढाैं) ।

यसैगरी चन्द्रागिरि नगरपालिका ४ थानकोटमा भदाै १५ गते सापारु (गाईजात्रा) मनाइने भएको छ । सो सम्बन्धमा वडा कार्यालयले सूचना नै जारी गरेको छ (सम्बन्धित समाचार पढाैं) ।

यसैगरी चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापमा भदाै १४ गते क्वाँति पुन्हि (जनै पूर्णिमा) तथा भदाै १५ गते सापारु (गाई जात्रा)मनाउने निर्णय भएको वडाध्यक्ष राजभाइ महर्जनले जानकारी दिनुभयो । सूचना हेराैं

यसैगरी चन्द्रागिरि नगरपालिका ५ महादेवस्थान किसिपिडीमा पनि भदाै १४ गते क्वाँति पुन्हि (जनै पूर्णिमा) तथा भदाै १५ गते सापारु (गाई जात्रा)मनाउने निर्णय भएको वडाध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिनुभयो । सूचना हेराैं

चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँमा स्थानीय भद्र भलाद्मीहरूको भेलाले भदाै १३ गते क्वाँति पुन्हि (जनै पूर्णिमा) तथा भदाै १४ गते सापारु (गाई जात्रा)मनाउने निर्णय गरेको बताइएको छ । सूचना हेराैं

भदाै १३ गते क्वाँति पुन्हि (जनै पूर्णिमा) तथा भदाै १४ गते सापारु (गाई जात्रा)मनाउने निर्णय गरेको बताइएको छ । सूचना हेराैं

नगरका अन्य वडाहरूमा क्वाँति पुन्हि (जनै पूर्णिमा) तथा सापारु (गाई जात्रा)मनाउने सन्दर्भमा मिति किटान गर्ने क्रम जारी रहेको बुझिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *