नागढुंगा सुरुङ मार्ग खन्ने काम अब ८% बाँकी, ११ वटा संरचना तयार
थानकोट ।
राष्ट्रिय गौरव आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग अन्तर्गत सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । नागढुंगा नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार सुरुङ खन्ने काम ९१.७० प्रतिशत सम्पन्न भएको हो ।
अब सुरुङ खन्ने काम करिब ८ प्रतिशत मात्र बाँकी छ । आयोजना अन्तर्गतको आपतकालीन सुरुङको ब्रेक थ्रु भइसकेको छ भने मुख्य सुरुङ खन्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।
नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार कुल २६८८ मिटर मुख्य सुरुङमध्ये अब ४५६ मिटर मात्र खन्न बाँकी छ । हालसम्म मुख्य सुरुङ काठमाडौंतर्फ ९९८.८० मिटर र धादिङतर्फ १२३३.४० मिटर गरी कुल २ हजार २२३२.२० मिटर खनिएको छ ।
कुल ५ हजार ४९९ मिटर सुरुङमार्ग (वर्किङ अडिट र क्रस प्यासेजसहित)मध्ये हालसम्म कुल ४ हजार ९३३।५५ मिटर निर्माण सम्पन्न भएको हो ।
त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्ने काम सकिएको छ । आयोजना अन्तर्गत कुल ५ हजार ४९९ मिटर सुरुङमार्ग (वर्किङ अडिट र क्रस प्यासेजसहित) निर्माण गर्नुपर्नेमा हमलसम्म ५ हजार ४३.२० मिटरको काम सम्पन्न भएको छ ।
आयोजनाको हालसम्म समग्रमा ५९.४५ प्रतिशत भौतिक प्रगति र ५५.२७ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ ।
अहिले मुख्य सुरुङ खन्ने काम सँगसँगै सुरुङको फिनसिङ (कंक्रिट लाइनिङ)पनि भइरहेको छ । मुख्य सुरुङमा फिनसिङको काम ४४३.५० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । हालसम्म मुख्य सुरुङको ११६८.५५ मिटर सुरुङ फिनसिङ गरिसकिएको छ ।
११ वटा संरचना निर्माण पूरा
नागढुंगा सुरुङमार्ग आयोजना अन्तर्गत निर्माण हुने १२ वटा संरचनामध्ये ११ वटा संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजना अन्तर्गत ३ वटा अण्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभरपास निर्माण सम्पन्न भइसकेको छ ।
आयोजना अन्तर्गतका संरचना मध्ये अब फ्लाइओभर निर्माण मात्र बाँकी रहेको छ । हालसम्म फ्लाइओभरको ३ वटा फाउन्डेसन र २ वटा सबस्ट्रक्चर निर्माण भइसकेको छ । यस्तै, फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गामध्ये ९५ प्रतिशत अधिग्रहण गरिसकिएको छ ।
नेपालकै पहिलो सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरि नगरपालिका-१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।













