चन्द्रागिरि-२ बाट सुरु हुँदै माओवादी केन्द्रको विशेष अभियान, प्रधानमन्त्रीले सम्बोधन गर्ने
थानकोट ।
सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङबाट सुरू गर्ने भएको छ ।
अभियानको प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरूवात गर्ने बताइएको छ।
चन्द्रागिरि नगरपालिका २ मा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले वडाध्यक्षसहित सबै ५ वटै पद जितेको थियो । अघिल्लो स्थानीय तह निर्वाचनमा पनि सो वडामा नेकपा (माओवादी केन्द्र) ले नै सबै पदमा बाजी मारेको थियो । जुन चन्द्रागिरि नगरमा माओवादी केन्द्रले जितेको एक मात्रै वडा थियो ।
विशेष अभियानको सुरूवात चन्द्रागिरि-२ बाट अध्यक्षज्यूले भदाै १६ गते शनिबार गर्ने कार्यक्रम तय भएको छ नेकपा (माओवादी केन्द्र) पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले भने । भर्चुअल माध्यमबाट ७५३ वटै पालिकामा उहाँले सम्बोधन गरेपछि वडा तहको अभियान सुरू हुन्छ’, उनले भने ।
गत साउन १७ गतेबाट २१ गतेसम्म राजधानीमा बसेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकले तीन चरणमा ६ हजार ७४३ वडामा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।












