फेसबुक पोष्टले भेटाइदियो आइतबार नैकापमा बेवारिसे अवस्थामा भेटिएका ३० वर्षीय युवाका आफन्त
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापमा बेवारिसे अवस्थामा भेटिएका एक युवाका आफन्त सम्पर्कमा आएका छन् ।
दोलखाको जिरी स्थायी वतन भइ भक्तपुरको बालकोट बस्दै आएका ३० वर्षीय भुवनेश्वर तामाङ आइतबार बिहान चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापस्थित सुदर्शन कार्कीको मकैबारीमा अर्धचेत अवस्थामा फेला परेका थिए ।
चन्द्रागिरि नगरपालिकाको सामाजिक विकास शाखा, नैकापस्थित प्रहरी प्रभाग तथा स्थानीयहरूको सहयोगमा उनको उद्दार गरि ललितपुरको पाटनस्थित मानसिक अस्पताल पुर्याइएको थियो ।
अस्पताल पुर्याउनुअघि आफन्त फेला नपरेपछि तामाङको उपचारका लागि चन्द्रागिरि नगरपालिकाले बालाजु रानीवनस्थित मानव सेवा आश्रम र पाटन मानसिक अस्पतालसँग समन्वय गरेको थियो ।
सामाजिक सञ्जालमा उनका आफन्त खोजी गर्न राखिएको तस्बिरसहितका जानकारीका आधारमा तामाङका आफन्त राति सम्पर्कमा आएको बताइएको छ ।
भुवनेश्वरका आफन्तले आइतबार नै उनको जिम्मा लिइसकेको चन्द्रागिरि नगरपालिका सामाजिक विकास शाखा प्रमुख रश्मी श्रेष्ठले जानकारी दिनुभयो ।
मानसिक अवस्था नाजुक रहेको अवस्थामा भेटिएका तामाङको हाल पाटन मानसिक अस्पतालमा उपचार भइरहेको छ । उनी के-कसरी नैकापमा अर्धचेत अवस्थामा फेला परेको भन्ने सन्दर्भमा अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

तस्बिरः रश्मी श्रेष्ठ












