नागढुंगा सुरूङमार्ग आयोजना प्रमुख नवीन श्रेष्ठलाई प्रधानमन्त्रीले दिएको निर्देशन कार्यान्वयन भयो त ?
थानकोट ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नागढुंगा सुरूङमार्ग आयोजना प्रमुख नवीन श्रेष्ठलाई चन्द्रागिरि नगरपालिका-२ घट्टेडाँडाबाट फोनमा निर्देशन दिएको सात दिन पूरा भएको छ।
गत शनिबार ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को शुभारम्भ गर्न चन्द्रागिरि-२ स्थित घट्टेडाँडा पुगेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागढुंगा आयोजना प्रमुख नवीन श्रेष्ठलाई फोनमा भनेका थिए ‘हेलो नवीनजी, नमस्कार । म अहिले चन्द्रागिरि–२ को जनताको साथमा छु । आयोजना निर्माणको क्रममा विस्फोट गर्दा घर चर्किएको, पानीको मुहान सुकेको, ठुलो हिस्सा आयोजनाबाट प्रभावित भए पनि राहत नपाएको विषय स्थानीयले गम्भीर ढङ्गले उठाउनु भएको छ । त्यसमा के गर्न सकिन्छ, एक साताभित्र सुझावसहित प्रतिवेदन पेस गर्नु र समस्याको हल निकाल्नु । बाँकी भेटमा गफ गरौंला ।’
त्यस दिन सोही पार्कमा वृक्षारोपण गरेपश्चात प्रधानमन्त्री दाहालले प्रत्यक्ष रूपमा स्थानीयको गुनासो सुनेका थिए ।
त्यस दिन सोही पार्कमा वृक्षारोपण गरेपश्चात प्रधानमन्त्री दाहालले प्रत्यक्ष रूपमा स्थानीयको गुनासो सुनेका थिए । आफ्नै घर आँगनमा देशका कार्यकारी प्रधानमन्त्रीसँग गुनासा राख्न पाउँदा दंग परेका उनीहरूले स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, विद्युतलगायत समस्या राखे ।
नागढुंगा सुरुङ मार्ग प्रभावित क्षेत्रका बासिन्दाहरूले ब्लास्टिङका कारण घर चर्किएको, खानेपानीको स्रोत सुकेको, मुआब्जा नपाएको जस्ता समस्या प्राथमिकताका साथ उठाएका थिए । यी सबै समस्या गम्भीरतापूर्वक सुनेका प्रधानमन्त्री प्रचण्डले सभामार्फत् संक्षिप्तमा एक एक जवाफ दिँदै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
जवाफ दिने क्रममा उनले प्रभावित क्षेत्रका जनताको समस्यामा आफू गम्भीर भएको प्रतिक्रिया दिए । कार्यक्रमस्थलबाटै आयोजना प्रमुख श्रेष्ठलाई फोन गरी समस्या समाधानका लागि सुझावसहित एक हप्ताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिए ।
प्रधानमन्त्रीको निर्देशनअनुसार प्रतिवेदन तयार भएको र आयोजनाबाट पुगेको क्षति सम्बन्धमा इन्जिनियरहरूले स्टिमेट बनाउने क्रम जारी रहेको प्रमुख श्रेष्ठलेलाई जानकारी दिए ।
क्षतिको पूर्ण विवरण संकलन गर्न इन्जिनियरहरूले १० दिनको समय मागेकोले प्रतिवेदनलाई अन्तिम रूप भने नदिएको उनको जिकिर छ । यद्यपि आइतबारसम्म प्रतिवेदन बुझाउने तयारी भइरहेका प्रमुख श्रेष्ठले बताए ।












