नागढुंगा-मुग्लिन सडक विस्तारमा निर्माण सामग्री र रुख कटान बाधक

Thankot Times

थानकोट ।

संघीय राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको मुग्लिन-नागढुंगा सडकखण्ड विस्तारको काम जारी छ । तर, सडक विस्तारको गति भने निकै सुस्त छ ।

ठूला चाडपर्व नजिकिँदै गएकाले यो सडक भएर धेरै मानिसहरु काठमाडौंबाट आउजाउ गर्नेछन् । तर, सडक विस्तारको गति अपेक्षाकृत नहुँदा यात्रुले सास्ती भोग्नुपर्ने देखिएको छ । नागढुंगादेखि मुग्लिनसम्मको ९५ किलोमिटर लामो सडकलाई तीन खण्डमा विभाजन गरेर सडक विस्तारको काम गत बर्षदेखि नै थालिएको हो । तर, अपेक्षाकृत भौतिक प्रगति भने हुन सकेको छैन ।

आयोजनाले निर्माण सामग्रीको अभाव र रुख कटान मुख्य समस्याका रुपमा देखापरेको बताएको छ । नागढुंगा मलेखु सडक आयोजनाका प्रमुख ईश्वरबहादुर रिजालले रुख कटानका लागि दुई बर्षदेखि प्रयास गर्दा पनि ठोस प्रगति हुन नसकेको गुनासो गरे ।

सडकको क्षेत्राधिकारभित्रका रुख काट्न वन विभागमा धेरैपटक गए पनि कहिले के कहिले के नाममा दुःख दिने गरिएको गुनासो पोखे ।

९५ किलोमिटर लामो मुग्लिन नागढुंगा सडकखण्डमा १२० भन्दा बढी घर टहरा भत्काउनुपर्ने छ । तिनको मुअब्जाको रकम ठेक्का भित्र समेटिएको छैन, तर खानेपानी, विद्युत र वनको भने ठेक्का रकम भित्र नै समेटिएको छ । घर टहराका लागि १२ करोड रुपैयाँ मुअब्जामा खर्च हुनेमा गत आर्थिक बर्षमा जम्मा ३ करोड रुपैयाँ मात्र छुट्याइएको थियो ।

यो खण्डमा सुरुमा २५ सय जति रुख काट्नुपर्छ भनिए पनि पुनः सर्भे गर्दा २२ सय रुखहरु काट्नुपर्ने देखिएको छ । यो खण्डमा पर्ने विद्युतका पोल सार्न विद्युत प्राधिकरण र आयोजनाले १२ करोड ११ लाख खर्च गर्नेछन् ।

नागढुंगादेखि मुग्लिनसम्मको सडक ठूलो बजार क्षेत्रमा ६ लेन, सानो बजार क्षेत्रमा ४ लेन र अन्य ठाँउमा ३ लेन बन्नेछ भने, र कठिन भूगोल र पहिरोको उच्च जोखिम भएका ठाउँमा डेडिकेडेट २ लेन बन्नेछ । नौविसेदेखि नागढुंगासम्म मालबाहक गाडीका लागि क्लाइम्बिङ लेन अलग्गै बन्नेछ । जहाँबाट मात्रै मालबाहक सवारी साधन गुड्न पाउनेछन् ।

यो खण्डमा बन्ने २१ वटा नयाँ पुलहरु सबै चार लेनका हुनेछन् । विश्व बैंकको सहुलियतपूर्ण ऋणमा विस्तार गर्न लागिएको सडक बनेपछि राजधानी आवतजावतमा सहज हुने विश्वास गरिएको छ । अहिले राजधानी जाने मुग्लिन नारायणगढ सडक विस्तार भइसकेको छ भने पोखरा मुग्लिन सडकखण्ड विस्तारको क्रममा छ ।

सुवास पण्डित/अनलाइनखबर


Leave a Reply

Your email address will not be published. Required fields are marked *