मच्छेगाउँमा आजबाट लाखे नाच प्रदर्शनी, देशभरका करिब ६ दर्जन समुहको सहभागिता
थानकोट ।
चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँमा वर्षेनी आयोजना हुने लाखे नाच प्रदर्शनी आज सुरू हुँदैछ । नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा हुने प्रदर्शनीमा देशभरबाट लाखे नाच समुहहरूले सहभागिता जनाउने बताइएको छ ।
‘आफ्नो ठाउँको माैलिक कला र संस्कृति साटासाट गराैं’ नाराका साथ यसपटक आयोजना हुने कार्यक्रमको पहिलो दिन नायक भुवन केसी, सविन श्रेष्ठ, गायक कृष्ण विक तथा नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतलाई सम्मान गर्ने तालिका रहेको कार्यक्रम संयोजक निकेश शाहीले जानकारी दिनुभयो ।
आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्धेश्य रहेको आयोजक नेपाल साँस्कृतिक कला मन्दिरका अध्यक्ष रमेश शाहीले बताउनुभयो ।
संघीय सांसद् राजेन्द्रकुमार केसीले कार्यक्रमको उद्घाटन गर्ने तालिका रहेको बताइएको छ ।
प्रदर्शनी भोलि शनिबार सकिनेछ ।
गत वर्ष विभिन्न जिल्लाका ४२ समुहले लाखे नाच प्रदर्शनीमा सहभागिता जनाएका थिए ।












