नागढुंगा-सिस्नेखोला सुरुङ मार्ग ३ सय ४७ मिटर खन्न बाँकी
थानकोट ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा ३४७.६० मिटर मात्र मुख्य सुरुङ खन्न बाँकी रहेको छ । दसैंलगत्तै ‘ब्रेक थ्रु’ गर्नेगरी काम भइरहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । गत साउन २२ मा आपतकालीन उद्दार सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । २.५५७ किलोमिटर दूरी रहेको उक्त आपतकालीन सुरुङको ‘ब्रेक थ्रु’ गरेर अहिले फिनिसिङको काम गरिँदैछ ।
अहिले काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोलामा निर्माणको काम भइरहेको छ । सुरुङ बनेपछि साढे ७ किलोमिटर सडक छोटिँदा नागढुंगा उकालोमा हुने सवारी जामको समस्याबाट यात्रुले छुटकारा पाउनेछन् । सुरुङबाट मोटरसाइकल, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र ग्यास बुलेटले भने आवतजावत गर्न पाउने छैनन् । सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ भएपछि त्यसभित्र अक्सिजन, बत्ती व्यवस्थापन, सडक कालोपत्र, लाइनिङलगायत काम गर्न समय लाग्नेछ ।
समग्रमा सुरुङ खन्ने काम ९३.७० प्रतिशत सकिइसकेको छ । २०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने हो । सुरु ठेक्का सम्झौताअनुसारको म्याद ०८० वैशाख १३ सम्म मात्र हो ।
कोभिडका कारण तोकिएकै समयभित्र निर्माण नसकिएको आयोजनाको भनाइ छ । सम्झौतामा उल्लेख भएको समयअनुसार काम नसकिएपछि ०८० साउन ४ सम्म म्याद थपिएको हो । उक्त समयभित्र पनि काम नसकिने भएपछि दोस्रो पटक फेरि ०८१ वैशाख १३ सम्म म्याद थपिएको छ । अहिले थप भएको समय भित्र पनि काम नसकिने भएकाले थप ६ महिना समय लाग्ने प्रमुख श्रेष्ठले बताए ।
सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको हो । निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ । आयोजनाका अनुसार अहिलेसम्म ३ वटा अन्डर पास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास र ३ वटा पुल निर्माण गरिएको छ । फ्लाईओभर भने निर्माणको चरणमा रहेको छ ।












