१९औं एसियाडः पुरुष क्रिकेटमा नेपाल क्वाटर फाइनलमा
थानकोट ।
चीनमा जारी १९औं एसियाली खेलकुदमा नेपाली पुरुष क्रिकेट टिम क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
आइतबार बिहान सम्पन्न समुह चरणको दोस्रो खेलमा नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अलआउट भएपछि नेपालले सहज जित दर्ता गर्दै प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको हो ।
माल्दिभ्सका ब्याट्सम्यान नेपाली बलरहरू सामु निरीह देखिए । आफ्नो दोस्रो खेलमा नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अलआउट हुन पुग्यो ।
माल्दिभ्सका मात्र तीन खेलाडीले दोहोरो अङ्कमा रन बनाए । मुभियाथ गानीले ३६ रन बनाए भने रसिद रासमले १२ रन तथा फरिद सिउसले १० रनको योगदान दिए । माल्दिभ्सका ६ जना खेलाडीले खाता पनि खोल्न सकेनन् ।
एउटै टी–२० खेलमा ६ जना खेलाडी शून्यमा आउट भएको दोस्रो खराब रेकर्ड हो । एउटै खेलमा सन् २०१९ मा चेक गणतन्त्रविरुद्ध टर्कीका ८ जना खेलाडी शून्यमा आउट भएका थिए । त्यतिबेला टर्कीको टोलीमा २१ रनमा समेटिएको थियो । एउटै खेलमा ६ जना खेलाडी शून्यमा आउट गर्ने नेपाल एक्लो टोली भने होइन । यस्तो टी–२० मा खेलमा धेरै पटक भएको छ ।
अभिनाश बोहराले घातक बलिङ गर्दै माल्दिभ्सका ६ विकेट लिए । अभिनाशले दुई वटा ओभरमा ३–३ विकेट लिँदै माल्दिभ्सलाई सस्तोमा समेट्न ठुलो योगदान दिए । उनी दुवै पटक ह्याट्रिक लिनबाट भने चुके । उनले ३.४ ओभर बलिङ गर्दै मात्र ११ रन खर्चेर ६ विकेट लिए ।
त्यस्तै सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक-एक विकेट लिए ।













