चन्द्रागिरिमा नगर सुरक्षा व्यवस्थापन बैठक सम्पन्न, मुल सडकमा २ सय थान क्यामेरा जडान हुँदै

Thankot Times

थानकोट ।

नजिकिँदै गरेका चाडपर्व शान्तिपूर्ण एवं भयरहित तबरले मनाउने वातावरण सृजना गराउने सन्दर्भमा केन्द्रीत रही चन्द्रागिरि नगरमा नगर सुरक्षा व्यवस्थापन बैठक सम्पन्न भएको छ ।

नगर क्षेत्रमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा ट्राफिक प्रहरी यूनिटका प्रतिनिधिहरूसँग सोमबार चन्द्रागिरि नगरपालिकाको कार्यालयमा नगरप्रमुख घनश्याम गिरीले नगर क्षेत्रको शान्ति सुरक्षाका विषयमा छलफल गर्नुभएको बताइएको छ । 

सो क्रममा नगरप्रमुख गिरीले चन्द्रागिरि नगरपालिकाले नगरको नियमन क्षेत्रका मुल तथा सहायक सडक एवं मुख्य चोकहरूको गतिविधि निगरानीका लागि क्लोज सर्किट टेलिभिजन क्यामेरा (सीसीटिभी) जडानको कार्य सुरु भएको जानकारी दिनुभयो ।  

नगरप्रमुख गिरीका अनुसार सोमबारबाट सुरु भएको सीसीटिभी क्यामेरा जडानको कार्य चरणबद्ध रूपमा नगरका सबै १५ वटै वडामा जारी रहनेछ । पहिलो चरणमा भने चाडपर्व लक्षित गरी मुख्य सहायक सडक तथा चोकहरूमा क्यामेरा जडानको कार्य सुरू भएको छ जहाँ २ सय थान क्यामेरा यथासिघ्र जडान हुनेछन् ।

ती क्यामेराबाट हुने निगरानीले चन्द्रागिरि नगरको शान्ति सुरक्षा सामान्य रूपमा राख्नका लागि सहयोग मिल्ने र भैपरी आउने घटनाको अनुसन्धानका लागि ती क्यामेरामा कैद भएका गतिविधि फलदायी हुने अपेक्षा लिइएको बताइएको छ । 

बैठकमा नगरप्रमुख गिरीले सुरक्षा निकायका प्रतिनिधिहरूलाई चन्द्रागिरि नगरपालिका क्षेत्रमा चाडपर्व लक्षित सुरक्षा व्यवस्थापन चुस्त दुरुस्त पारी नगरबासीहरूले भयरहित तरिकाले चाडपर्व मनाउने वातावरण मिलाउन निर्देशन दिइएको जनाइएको छ ।

ती क्यामेरा जडानका लागि गत आर्थिक वर्षमा नै बजेट विनियोजन भइसकेको थियो, टेण्डर प्रकृयामार्फत फाइबर विस्तारको कार्य सम्पन्न भएपछि क्यामेरा जडानको कार्य सुरू भएको नगरप्रमुखले नगर उपप्रमुख, नगर प्रवक्ता, प्रमुख प्रशासकीय अधिकृत, नगर कार्यपालिका सदस्यहरू तथा सुरक्षा निकायका प्रतिनिधि सम्मिलित बैठकमा जानकारी गराउनुभएको छ ।

सो क्रममा नगरप्रमुख गिरीले जारी उज्यालो चन्द्रागिरि अभियानको प्रगति विवरण समेत जानकारी गराउनुभएको बताइएको छ । 

चन्द्रागिरि नगरपालिकाले ‘उज्यालाे चन्द्रागिरि अभियान’ अन्तर्गत नगर क्षेत्रमा १५ हजार थान सडक बत्ति जडान गर्ने लक्ष्य लिएको छ । जसमध्ये ४ हजार ५ सय थान सडक बत्ती जडान भइसकेको छ । 

त्रिभुवन राजपथ अन्तर्गत चन्द्रागिरि नगर क्षेत्रभित्र पर्ने कलंकी-नागढुङ्गा-पिपलामोड खण्डमा पहिलो चरणमा करिब ५०० थान सडक बत्ति तथा ८० वटा उच्च प्रविधिकाे सिसी  क्यामरा जडान गरिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *