दसैं मनाउन नेपाल आउँदै हुनुहुन्छ? कुन सामान कति ल्याउँदा भन्सार लाग्दैन् ?
थानकोट ।
चाडपर्व नजिकिएसँगै विदेशबाटबाट आउने नेपालीको संख्या बढ्न थालेको छ। विदेशबाट आउने यात्रु बढेसँगै अवैधानिक सामान लिएको नाममा भन्सार कारबाही पनि बढेको छ।
मापदण्डभन्दा बढी मालवस्तु लिएर आउने यात्रु भन्सार तथा प्रहरीको कारबाहीमा परेमा त्यस्तो मालवस्तु त जफत हुन्छ नै सोही मूल्य बराबरको धरौटी तिर्नुपर्छ। जरिवाना र कैद पनि हुन्छ।
विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजनसम्बन्धी ल्याउन पाउने सामानको सूची तथा मात्रा परिवर्तन गरिएको छ।
सुन
पछिल्लो व्यवस्था अनुसार महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन्। यसै गरी पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन्।
त्यस्तै एक जना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था छ।
तर, गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिकी जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता दिइएको छैन्। यसरी लिएमा भने कारबाहीमा परिन्छ।
मोबाइल
मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन्। श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानुनी व्यवस्था छ। थप एक थान मोबाइलका लागि भने भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्छ।
टिभी
श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन्।
तर, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाइन्छ। अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था छ।
पैसा
५ हजार अमेरिकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नुपर्छ। रकम घोषणाको भने कुनै महसुल वा शुल्क बुझाउनु पर्ने छैन्।













