१९औं एसियाडमा नेपाली पुरुष क्रिकेट टोलीको चुनाैती समाप्त, भारत २३ रनले विजयी

Thankot Times

थानकोट ।

१९औं एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

मंगलबार बिहान सम्पन्न खेलमा जीतका लागि दुई सय तीन रनको लक्ष्य पाएको नेपालले ९ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो ।

हारसँगै नेपाली क्रिकेट टोलीको चुनाैती सकिएको छ ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाए भने सन्दीप जोरा र कुशल मल्लले २९–२९ रनको योगदान दिए । ओपनर कुशल भुर्तेलले २८ रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले एक सय रन बनाए । जैसवाल र रुतुराज गाइकवाडले ओपनिङ विकेटका लागि एक सय तीन रनको साझेदारी गरेका थिए । गाइकवाड २५ रन बनाउँदै आउट भए ।

भारतका लागि शिवम दुबेले अविजित २५ रन र रिन्कु सिंहले अविजित ३७ रन बनाए । नेपाली बलर दीपेन्द्र सिंह ऐरीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक-एक विकेट लिए । नेपालको फिल्डिङ खासै प्रभावकारी देखिएन ।

नेपाली फिल्डरले केही राम्रा अवसरलाई खेर फालेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *