चाडपर्व लक्षित गरी लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट

Thankot Times

थानकोट ।

दशैं, तिहार, नेपाल संवत र छठ पर्वलाई लक्षित गरी बुटवलस्थित लुम्बिनी केबलकार लिमिटेडले चाडपर्व अफर ल्याएको छ ।

आज (असोज २१ गते) देखि लागु भएको यो अफरमा साबिक टिकट दरमा शनिबार बाहेक अन्य दिनहरुमा ४० प्रतिशत छुट दिइएको छ ।

यो अफर अनुसार अब शनिबार बाहेक अन्य दिनहरुको टिकट दर ४५० रुपैयाँ मात्र कायम भएको छ ।

नेपालीहरुका चाडपर्वका अवसरमा आम सर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए ।

टिकट दरमा छुटसँगै कम्पनीले केबलकारको टप स्टेशनमा रहेको रेष्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट पनि दिने अपरेसन म्यानेजर सैंजूले जानकारी दिए ।

चाडपर्वमा आम सर्वसाधारण परिवार सहित केबलकार चढ्न र देवी मन्दिर दर्शन गर्न सहज होस् भनेर ल्याइएको यो अफर यसअघिको मर्निङ अफर जस्तै सफल हुने कम्पनीले विश्वास लिएको छ ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो ।

बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका बसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्ष पुरानो दुर्गा भगवती मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ ।

टप स्टेशनमा कम्पनीले ४० लाख लागतमा जीप लाइन सञ्चालनमा ल्याइसकेको छ भने छिटै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ,विद्युतीय पिङ र बाल उद्यान बनाउँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *