नजिकिंदो दशै, काठमाडौं-नारायणगढ रुटमा अत्यावश्यक बाहेकका ढुवानीका सवारी सञ्चालनमा रोक
थानकोट ।
यातायात व्यवस्था विभागले काठमाडौं- नारायणगढ सडक खण्डमा असोज २६ देखि कात्तिक ८ गतेसम्म काठमाडाैं उपत्यकाको प्रवेश विन्दुमा अत्यावश्यक बाहेकका ट्रेलर लगायतका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
चाड पर्वमा हुने सवारी साधनको चापलाई दृष्टिगत गर्दै काठमाडाैं उपत्यकाको आवातजावतलाई सहज बनाउन भन्दै विभागले यस्तो निर्णय गरेको हो।
विभागले अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन असोज २६ गतेदेखि कात्तिक ८ गतेसम्म बन्दको निर्णय गरेको हो।
नारायणगढदेखि काठमाडौंसम्म यस्ता सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो।
यस्तै विभागले घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुनेगरी सवारीसाधनलाई रुट परमिट खुलाको निर्णय पनि विभागले गरेको छ। बाटोको विशेष प्रकृतिका कारण उक्त बाटोमा चल्न निषेध गरिएका सवारी साधनहरुको बन्देज भने यथावत नै रहेको विभागले जनाएको छ।













