थानकोटमा पनि बिग मार्टको शाखा, कर्मचारी भन्छन् ‘यतिको भीड अहिलेसम्म हामीले देखेकै थिएनाैं’
थानकोट ।
सन् २००९ मा काठमाडौंको कमल पोखरीस्थित सिटी सेन्टरमा सुरु भएको बिग मार्ट स्टोरले थानकोट चेकपोष्टमा ७८औं शाखा सञ्चालनमा ल्याएको छ ।
हिजो असोज २७ गते शनिबारबाट बिग मार्टले चन्द्रागिरि नगरपालिकामा तेस्रो शाखा सञ्चालनमा ल्याएको हो । यसअघि चन्द्रागिरिका चुनदेवी तथा सतुगंलमा बिग मार्टले शाखा सञ्चालनमा ल्याइसकेको छ । क्षेत्रफलको आधारमा बिग मार्टको थानकोट शाखा काठमाडाैंमा उसको सबैभन्दा ठूलो शाखा भएको बताइएको छ ।
घरायसी सामानहरू एकै छानामुनी खरिद गर्न पाइने किनमेल केन्द्र बिग मार्टको थानकोट चेकपोष्ट शाखा सञ्चालन ल्याइएको पहिलो दिन नै उत्साहजनक सहभागिता रहेको बिग मार्ट व्यवस्थापनले जनाएको छ।
बिहान ६ बजेबाट नै सामान खरिदका लागि लागेको भीड बेलुकी ९ः३० सम्म नै जारी थियो ।
सो सुपर मार्केटका कर्मचारीहरूका अनुसार अन्य शाखामा सो खालको भीड मुस्किलले देखिन्थ्यो, तर थानकोट शाखामा देखिएको भीडले उत्साह थपिएको छ ती कर्मचारीले भने ।
पहिलो दिन बिग मार्ट थानकोट शाखामा करिब ८ हजार जनाले शाखा भ्रमण गरेको अनुमान बिग मार्ट व्यवस्थापनको छ । यो बिग मार्टको हालसम्म खुलेका शाखामा पहिलो दिन देखिएको सबैभन्दा ठूलो भीड हो ।













