काठमाडौं उपत्यकामा आज प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने, थानकोट रूटमा भने नगुड्ने
थानकोट ।
नेपाल प्रहरीले मंगलबार (आज) विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
सार्वजनिक सवारी साधन आज निकै न्यून संख्यामा चल्ने भएको दसैँको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यका दुईवटा रुटमा निःशुल्क सेवा दिन लागिएको प्रहरीले जनाएको छ ।
ती बस बिहान साढे ८ बजेदेखि अपराह्न ४ बजेसम्म दुईवटा रुटमा निःशुल्क रूपमा सञ्चालन हुनेछन् ।
आज सशस्त्र प्रहरीले पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ । सार्वजनिक सवारी साधन दसैँको समयमा नचल्दा काठमाडौं उपत्यकामा दसैँमा सर्वसाधारणले हैरानी बेहोर्नु पर्दै आएको छ ।
रुट नम्बर १ मा रहेको बसले नक्साल, बालुवाटार, टिचिङ अस्पताल, चक्रपथ, नयाँबसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक हुदैँ जय नेपाल हलसम्म परिक्रमा गर्ने प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) कुबेर कडायतले जानकारी दिए ।
उनका अनुसार रुट नम्बर २ को बस नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सुर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ हुदैँ बालुवाटारसम्म पुग्नेछ।













