ढोग्न नमानेका कारण कुटाइ खाएका एक युवाको उपचारका क्रममा मृत्यु
थानको ट।
भलिबल खेल हेर्न गएका बेला दुई जना युवाको कुटपिटबाट घाइते भएका सल्यानका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्लाको बागचौर नगरपालिका – ७ कोटबाराका २० वर्षीय घनश्याम वलीमाथि बागचौर– ८ स्यालाका २५ वर्षीय केशर वली र २३ वर्षीय सन्तोष वलीले कात्तिक ४ गते कुटपिट गरेका थिए।
घाइते घनश्यामको उपचारका क्रममा बुधबार बिहान भारतको लखनउमा मृत्यु भएको खबर आएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले सेतोपाटीलाई बताए।
कुटपिटमा संलग्नमध्ये सन्तोष पक्राउ परेका छन्। उनलाई दाङ प्रहरीको सहयोगमा बुधबार पक्राउपछि सल्यान ल्याउन लागिएको डिएसपी कार्कीले बताए। केशर भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।
भलिबल चलिरहेको समयमा केशर र सन्तोष मैदानमा प्रवेश गरे। त्यत्तिकैमा केशर र सन्तोषले घनश्यामलाई ‘दाइहरूलाई ढोग्’ भन्न थाले।
घनश्यामले उनीहरूलाई ढोग्न मानेनन्। त्यही बहानामा घनश्यामलाई उनीहरू दुई जना मिलेर निर्घात कुटपिट गरेको स्थानीयले बताएका छन्।
चोटग्रस्त घनश्याम बेलुका घरमा पुगेपछि टाउको दुखेको भन्दै खाना नखाई सुतेका थिए।
घनश्यामले आफूमाथि कुटपिट भएको कुरा घरमा भनेनन्। ५ गते पनि घनश्यामले कुरा खोलेनन् र खाना खाएनन्। उनी बिरामी भएको ठानेर त्यस दिन घरपरिवारले झारफुक गरे।
कात्तिक ६ गते बल्ल घनश्यामले आफूमाथि कुटपिट भएको र अस्पताल लैजान घरपरिवारलाई आग्रह गरेका थिए। त्यसपछि मात्रै परिवारले प्रहरीलाई घटनाबारे सूचना दिएका थिए।
परिवारले घनश्यामलाई बागचौरको जनप्रिय मेडिकलमा उपचारका लागि पुर्याएका थिए।
जाँच गराउँदा स्वास्थ्यकर्मीले घनश्यामको शरीरभित्र कुटपिटबाट रगत जमेको भन्दै बाहिर लैजान सुझाए। त्यसपछि उनलाई उपचारका लागि भारतको लखनउ पुर्याइएको थियो।
लखनउमै उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।













