ओरालोमा स्कुटर अनियन्त्रित भइ सय मिटर तल खस्दा श्रीमतीको मृत्यु, श्रीमान घाइते
थानकोट ।
मकवानपुरको भीमफेदी गाउँपालिका-६, जुरीखेतमा बुधबार साँझ स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
काठमाडौं-कुलेखानी-हेटौँडा सडकखण्डमा भएको दुर्घटनामा काठमाडौं महानगरपालिका-२७ बस्ने ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकी उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनका श्रीमान् ६५ वर्षीय शशीराज पाण्डे घाइते छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंबाट हेटौँडा जाँदै गरेको ०२-०२७-प ४८४२ नं को स्कुटर बुधबार दुर्घटनामा परेको हो । जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भइ सडकबाट करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।













