फेवातालको बीचमा रहेको तालबाराही मन्दिर पुनः निर्माण सुरु, ९ करोडको लागतमा नयाँ मन्दिर बनाइने
थानकोट ।
पोखराको प्रमुख गन्तव्य स्थल फेवाताल बीचमा रहेको तालबाराही मन्दिर पुनः निर्माण सुरु भएको छ ।
२०७२ सालको भूकम्पले मन्दिर ३ इन्च दक्षिणतर्फ ढल्किएपछि जोखिम बढेको भन्दै पुनः निर्माण गर्न लागिएको हो । भूकम्पमा मन्दिर छेउको दुई वटा गोदाम कोठा दबेको छ । उक्त कोठाहरू पहिले नै हटाइएको छ ।
बिहीबार बिहान पोखरा महानगरका मेयर धनराज आचार्यले मन्दिर पुनः निर्माणको शिलान्यास गरे ।
९ करोड लागतमा मन्दिर पुनः निर्माण गर्न लागिएको हो । २ वर्षभित्रमा सबै संरचना निर्माण पूरा भइसक्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार अहिलेको स्वरूप कायम राख्ने गरी नयाँ संरचना निर्माण हुनेछ । ‘प्यागोडा शैलीमै कालीगढ मगाएर काम थालिएको हो । अहिलेको स्वरूप जस्ताको त्यस्तै रहनेछ,’ उनले भने, ‘हामी सानो सानो कुरामा पनि निकै गम्भीर भएर काम गरिरहेका छौँ । यसको कारण भनेको तालबाराही प्रतिको जनविश्वास नटुटोस् भनेर हो ।’
पुनः निर्माणका लागि पुरातत्त्व विभागले २५ लाख र बाँकी रकम मन्दिर व्यवस्थापन समितिले जुटाएको छ । धेरैजसो रकम दानबाट सङ्कलन गरिने कुँवरको भनाई छ । ‘मन्दिर अगाडी टेबल राखेका छौँ ।
इच्छुकसँग सहयोग लिएका छौँ,’ उनले भने, ‘२ करोड जति सङ्कलन भैसकेको छ ।’ प्राचीनकामा माटोको ढिस्कामा शिला रहेको र सोही शिला छोपिने गरी मन्दिर निर्माण गरिएको कथन यहाँका पुजारीहरूले सुनाउँछन् । दसैँको कोजाग्रत पूर्णिमामा तालबाराहीमा विशेष मेला लाग्छ ।
वि.सं. १४६७ सालमा तालबाराही मन्दिर स्थापना भएको विश्वास छ । यसलाई पछिल्लो पटक २०१४ सालमा अहिलेको स्वरुपमा निर्माण गरिएको हो । मन्दिर पुनः निर्माण अवधिभरि बाहिरै पूजाको व्यवस्था मिलाइएको छ । शिलान्यास गर्दै मेयर आचार्यले पैसाको अभावमा पुनः निर्माण नरोकिने बताए । ‘यो हामी सबैको सम्पदा हो । यसको पुनः निर्माणमा लाग्ने खर्च अभावले काम रोकिँदैन,’ उनले भने, ‘महानगर तपाईंहरुको साथमा छ । सबै क्षेत्रबाट सहयोग सङ्कलन हुन्छ ।’ मन्दिर निर्माणका लागि गुरुयोजना बनाइएको छ ।












