एकैदिन साढे ६ हजार जना चढे मनकामना केबलकार, पछिल्लो १२ दिनमा ३३ हजार बढिले गरे यात्रा

Thankot Times

थानकोट ।
बडा दसैंको १२ दिनमा ३३ हजार ३४० जनाले मनकामना केबलकारमा यात्रा गरेका छन्।

घटस्थापनादेखि त्रयोदशीसम्म केबलकारबाट यात्रा गर्ने यात्रुको संख्या ह्वात्तै बढेको मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बिहीबार एकैदिन ६ हजार ५२२ जनाले मनकामना केबलकारमा यात्रा गरेका छन्।

‘बिहीबार (हिजो) बिहानै ६ बजेदेखि मनकामना मन्दिरमा पुजा गर्न जाने भक्तजनको केबलकार गेटमा लाइन सुरु भएको थियो। हामीले उचित व्यवस्थापन गरेर यात्रा गराउन सफल भयौं,’ उनले भने, ‘हामीले दसैंमा नवमी, दशमी र एकादशीमा केबलकार बन्द गरेका थियौं। अब शनिबार कोजाग्रत पूर्णिमासम्म यात्रुको भिड बढी हुन्छ।’

श्रेष्ठका अनुसार सोह्र श्राद्धमा भारतीय पर्यटकका कारण केबलकारको व्यापार उत्साहजनक रहेको थियो।

‘सोह्रश्राद्धमा नेपालीहरु कम आउने गर्छन्। त्यो बेलामा भारतीयहरुको संख्या राम्रो थियो,’ उनले भने।

मनकामना केबलकारमा यात्रा गर्दै दैनिक हजारौं स्वदेशी तथा विदेशी नागरिकहरु मनकामना मन्दिर क्षेत्रसम्म पुग्ने गरेका छन् ।

फाइल फाेटाे


Leave a Reply

Your email address will not be published. Required fields are marked *